
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका चार संवेदनशील क्षेत्रमा निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ। स्थानीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनले शुक्रबार साँझदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन्।
प्रशासनका अनुसार वीरगञ्जको पूर्वतर्फ प्रतिमा चोक (बसपार्क बाइपास रोड), पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम आदेश जारी गरिएको हो। निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
प्रशासनले आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
यसअघि बिहीबार पनि वीरगञ्जका यिनै क्षेत्रमा सोही समय अवधिका लागि निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिएको हो।









Facebook Comments