काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जबाट सुरु भएको तनावपूर्ण परिस्थितिलाई संवादमार्फत समाधान गर्न आग्रह गर्दै सबै पक्षलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ।

परिसंघले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाल धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावको पहिचान बोकेको मुलुक भएकाले त्यसलाई जोगाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ। कुनै पनि असहमति वा विवादको समाधान हिंसा, आन्दोलन वा टकरावबाट नभई वार्ता र संवादबाट खोजिनुपर्नेमा परिसंघले जोड दिएको छ।

ad

विज्ञप्तिमा मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्ता घटनाले आर्थिक गतिविधि, लगानीको वातावरण र रोजगारी सिर्जनामा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरिएको छ। उद्योग–व्यवसाय सञ्चालनका लागि शान्ति, स्थायित्व र सामाजिक सद्भाव अपरिहार्य रहेको परिसंघको भनाइ छ।

आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, बजार तथा व्यापारिक प्रतिष्ठान बन्द गराउने प्रयास र लुटपाटका घटनाप्रति दुःख व्यक्त गर्दै परिसंघले उद्योगी–व्यवसायी र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

साथै, सामाजिक र धार्मिक सद्भाव प्रवर्द्धन गर्न देशभरका आफ्ना प्रदेश तथा जिल्ला संघहरूलाई अन्य सामाजिक संस्थासँग सहकार्य गर्दै शान्ति र सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न पनि परिसंघले आह्वान गरेको छ।