
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले विधेयकलाई विस्तृत छलफलका लागि समितिमा पठाउन प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएपछि विधेयक अब सम्बन्धित समितिमा दफावार अध्ययन र छलफलका लागि पठाइएको छ।
बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची सम्पन्न भएपछि प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएका छन्।
यसबीच, तराईका केही जिल्लामा विकसित घटनाक्रम र सामाजिक सद्भाव प्रभावित हुन सक्ने अवस्थाबीच संसद्को बैठक स्थगित भएको भए पनि बैठक स्थगनको औपचारिक कारण भने कार्यसूची सम्पन्न भएपछि तय गरिएको नियमित कार्यतालिकाअनुसार रहेको संसद् सचिवालयले जनाएको छ।









Facebook Comments