
काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सुनसरी, धनुषा र सिराहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने पर्साको वीरगन्जमा निषेधाज्ञा लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि साउन ११ गतेदेखि लागू गरेको कर्फ्युलाई देवानगञ्ज, कप्तानगञ्ज, महेन्द्र राजमार्ग आसपासका क्षेत्र तथा इनरुवा बजारसम्म विस्तार गरेको जनाएको छ।
यता, धनुषाको जनकपुरमा प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकासँगै लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका केही क्षेत्रमा पनि कर्फ्यु लागू गरिएको छ।
सिराहामा पनि सुरक्षा सतर्कता बढाउँदै जिल्ला प्रशासन कार्यालयले लहान, गोलबजार र चोहर्वा क्षेत्रमा बिहीबारदेखि कर्फ्यु आदेश जारी गरेको छ।
यसैबीच, सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै पर्साको वीरगन्जमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञाअनुसार वीरगन्ज महानगरपालिकाभित्र प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेट आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
स्थानीय प्रशासनले नागरिकलाई आदेशको पालना गर्न र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।









Facebook Comments