काठमाडौं । नेकपा एमालेको संसदीय दलकी उपनेता पद्मा अर्यालले मुलुकमा अशान्ति र तनावपूर्ण अवस्था उत्पन्न भइरहेका बेला प्रधानमन्त्री मौन बसेको भन्दै संकटका समयमा प्रधानमन्त्रीले जनतामाझ उपस्थित भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

१४ दिनपछि आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अर्यालले  विगतमा काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा गोली चलेर मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताईन् ।

ad

देशमा दंगा भइरहँदा, अशान्ति फैलिरहँदा यो मुलुकका प्रधानमन्त्री कहाँ हुनुहुन्छ ?’ भन्दै उनले प्रधानमन्त्रीले सिंहदरबारमा मात्र सीमित नभई संकटका बेला जनतासँग संवाद गर्नुपर्ने बताइन्। 

अर्यालले प्रधानमन्त्रीको पद केवल औपचारिकताका लागि नभई संकटका समयमा जनतालाई भरोसा दिलाउने जिम्मेवारीका लागि भएको उल्लेख गर्दै जनताको सरोकारका विषयमा सरकार अग्रसर हुनुपर्नेमा जोड दिइन्।