
काठमाडौं। नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच पार्टीलाई विभाजनबाट जोगाउन भन्दै युवा नेताहरूले ‘तेस्रो धार’का रूपमा छुट्टै राष्ट्रिय अभियान सुरु गर्ने भएका छन्। संस्थापन र संस्थापनइतर पक्षलाई एउटै ठाउँमा ल्याउने उद्देश्यसहित उनीहरूले साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेका छन्।
यस अभियानको नेतृत्व नेता नैनसिंह महर, रञ्जित कर्णलगायत नेताहरूले गरिरहेका छन्। उनीहरूका अनुसार भेला कुनै गुटको पक्षमा नभई पार्टीभित्र एकताको वातावरण बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
नेता नैनसिंह महरले एकताका लागि नेतृत्व तहमा लामो समयदेखि संवाद र पहल भए पनि त्यसको ठोस परिणाम नआएकाले अब कार्यकर्ता तहबाट दबाब सिर्जना गर्न आवश्यक भएको बताए। उनका अनुसार भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गराउने तयारी गरिएको छ।
महरले पार्टी एकताका पक्षमा रहेका सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई अभियानमा सहभागी हुन खुला आह्वान गरिएको जानकारी दिए। युवाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको उनले बताए।
उनका अनुसार विगत डेढ महिनादेखि पार्टी सभापतिसहित शीर्ष नेताहरूसँग निरन्तर संवाद भइरहेको छ। दुवै पक्षले पार्टी एकताप्रति सकारात्मक धारणा राखे पनि त्यसलाई व्यवहारमा उतार्ने प्रक्रिया अघि नबढेकाले दबाबमूलक अभियान सुरु गर्नुपरेको उनको भनाइ छ।
महरले अधिकांश नेता तथा कार्यकर्ताको चाहना कांग्रेस एकढिक्का भएर अघि बढोस् भन्ने रहेको दाबी गर्दै अब अभियानलाई काठमाडौंमा मात्र सीमित नराखिने बताए। राष्ट्रिय भेलापछि सातै प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने, आवश्यक परे देशभरका वडास्तरसम्म हस्ताक्षर अभियानसमेत चलाउने तयारी भइरहेको उनले जानकारी दिए।
कांग्रेसभित्र नेतृत्व विवाद चर्किरहेका बेला तेस्रो धारको यो पहलले पार्टीभित्र संवाद र सहमतिका लागि थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।









Facebook Comments