
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न कानुनी, प्रशासनिक तथा नीतिगत निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि निर्णय सार्वजनिक गर्दै ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिए।
बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त र सुविधासम्बन्धी ऐन संशोधन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनको एकीकरण तथा संशोधन, संक्रामक पशुरोग नियन्त्रण, राहदानी ऐन–२०७६ संशोधन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन, बालश्रम निषेध तथा नियमन, आन्तरिक वायुसेवाको दायित्व व्यवस्थापन, मेलमिलाप ऐन–२०६८ संशोधन तथा निजामती कर्मचारीसम्बन्धी ऐन संशोधनका विधेयक संसद्मा दर्ता गर्न स्वीकृति दिएको छ।
यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ। साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सम्बन्धी छैटौं संशोधन नियमावली–२०८३ लाई पनि स्वीकृति प्रदान गरिएको छ।
सरकारका अनुसार यी निर्णयहरू कानुनी सुधार, प्रशासनिक प्रभावकारिता र सार्वजनिक सेवा प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ गरिएको हो।









Facebook Comments