
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लाहरूमा हालै भएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनाले सिर्जना गरेको तनावपूर्ण अवस्थाप्रति पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ। रास्वपाले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विज्ञप्तिमा कुनै पनि असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नरहेको उल्लेख गर्दै नेपाली समाजको आधार आपसी सद्भाव, सहिष्णुता र बहुलवादी संस्कृतिमा रहेको बताइएको छ। पार्टीले सामाजिक सद्भावमा असर पुग्ने गतिविधिबाट टाढा रहन र अफवाह तथा उत्तेजनाको पछि नलागी संयमता अपनाउन सबै नागरिक, सामाजिक तथा धार्मिक अगुवा र सरोकारवालासँग अपिल गरेको छ।
रास्वपाले शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा परिस्थिति सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग आवश्यक सहकार्य गरिरहेको पनि जनाएको छ।
पार्टीले घटनाको वास्तविकता पत्ता लगाउन स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न तथा पीडित पक्षलाई न्याय, उचित क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
साथै, घटनालाई राजनीतिक लाभका लागि प्रयोग नगर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षलाई आग्रह गर्दै रास्वपाले शान्ति र सामाजिक सद्भाव कायम राख्न आफ्ना स्थानीय समिति र कार्यकर्तालाई पनि जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएको जनाएको छ।











Facebook Comments