काठमाडौं– सुनसरीको कप्तानगन्जमा झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर युवाको मृत्यु भएको घटना र त्यसको प्रभाव अन्य जिल्लामा समेत फैलिएपछि गृह मन्त्रालयमा उच्चस्तरीय छलफल सुरु भएको छ।

आइतबार राति उत्पन्न विवादले उग्र रूप लिँदै झडपको स्थिति सिर्जना भएपछि र सोको असर अन्य जिल्लाहरूमा समेत देखिन थालेपछि सरकारले सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाएको छ। वर्तमान गम्भीर परिस्थितिमाथि ठोस रणनीति तयार पार्न मन्त्रालयमा आपतकालीन बैठक बसिरहेको छ।

ad

गृह मन्त्रालयमा भइरहेको यो महत्त्वपूर्ण छलफलमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल लगायतका शीर्ष अधिकारीहरूको उपस्थिति रहेको छ। यसअघि सोमबार साँझ पनि यसै विषयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा साउने सोमबारको बोलबम यात्राका लागि राति डिजे बजाएर सप्तकोशी नदीतर्फ जाने तयारीमा एउटा समूह जुटेको थियो। तर, रातिको समयमा अनावश्यक हो-हल्ला गरिएको भन्दै अर्को समूहले विरोध गरेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो।

उक्त विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर कप्तानगन्ज निवासी २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो।

सुनसरीमा भएको उक्त घटनाको प्रभावस्वरूप हाल तराईका अन्य जिल्लाहरूमा पनि आपसी तनाव र झडपका घटनाहरू फैलिन थालेका छन्। शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन र देशैभरको सुरक्षास्थितिलाई नियन्त्रणमा राख्न मन्त्रालयले सुरक्षा प्रमुखहरूसँगको यो परामर्शलाई अत्यन्तै महत्वका साथ हेरेको छ।