
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न गुण्डुस्थित निवास पुगेका छन्।
पार्टीभित्र पछिल्ला दिनमा देखिएको मतभेद, प्रदेश सरकार गठनसम्बन्धी राजनीतिक सहमति तथा पार्टी पुनर्गठनसँग सम्बन्धित विषयमा छलफल गर्न उनीहरू गुण्डु पुगेको स्रोतले जनाएको छ।
प्रदेश सरकारमा नेकपासँग सहकार्य गर्ने विषयमा भएको तीनबुँदे सहमतिअघि पार्टीमा पर्याप्त परामर्श नभएको भन्दै केही नेताहरूले असन्तुष्टि जनाइरहेका छन्। त्यही विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले शीर्ष नेताहरूबीच संवाद भइरहेको बताइएको छ।
यस्तै, कोशी र लुम्बिनी प्रदेशमा नेतृत्व परिवर्तनको सम्भावना तथा बागमती प्रदेशमा मुख्यमन्त्री चयनसम्बन्धी चर्चाले पनि पार्टीभित्र थप बहस सिर्जना गरेको छ। यस विषयमा सम्भावित निर्णयका प्रभावबारे अध्यक्ष ओलीसँग पौडेल र पोखरेलले धारणा राख्ने तयारी गरेको एमाले स्रोतको भनाइ छ।
यसैबीच, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाइएको छ। उक्त प्रतिवेदनमा समेटिएका सुझाव, संगठनात्मक सुधार र आगामी रणनीतिबारे पनि अध्यक्ष ओलीसँग विस्तृत छलफल हुने स्रोतले जनाएको छ।










Facebook Comments