काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँग सरकारको वार्ता जारी रहेको छ। डा. केसीले उठाएका मागमा सहमति खोज्ने उद्देश्यले सरकारी वार्ता टोलीले छलफल अघि बढाएको हो।

वार्तामा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहभागी छन्। उनीहरूले डा. केसीका प्रतिनिधिसँग विभिन्न मागबारे छलफल गरिरहेका छन्।

ad

सरकारले प्रारम्भिक चरणमा प्रतिनिधिसँग सहमति जुटाउने प्रयास गरिरहेको जनाएको छ। प्रतिनिधिस्तरमा सहमति बनेपछि मात्रै डा. केसीसँग प्रत्यक्ष वार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

डा. केसी पाँचबुँदे माग राख्दै गत बिहीबारदेखि आमरण अनशनमा छन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।

उनले चिकित्सा शिक्षा क्षेत्रमा भएका विवादित नियुक्ति खारेज, छात्रवृत्ति कटौती र निजी मेडिकल कलेजमा मापदण्डविपरीत सिट थप्ने निर्णय रोक्न, चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्न, विगतका सम्झौता कार्यान्वयन गर्न तथा भ्रष्टाचार र हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग अघि सारेका छन्।

सरकार र डा. केसी पक्षबीचको वार्ताको नतिजालाई स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रले चासोका साथ हेरिरहेको छ।