
काठमाडौं । रसुवामा आएको बाढीपछि भेटिएका शव लगातार ल्याइएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृह भरिँदै गएको छ। अस्पतालका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ६९ वटा शव ल्याइएकामा आठ जनाको पहिचान खुलेको छ।
शवगृहमा अब बढीमा १० वटा शव मात्र थप राख्न सकिने अवस्था रहेको अस्पतालले जनाएको छ। बाढीमा ज्यान गुमाएका अधिकांश शव कुहिएको तथा क्षतविक्षत अवस्थामा रहेकाले पहिचान प्रक्रिया थप चुनौतीपूर्ण बनेको छ।
फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार शवगृहको फ्रिजिङ क्षमता १५० शवको भए पनि कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कारका लागि प्रतीक्षामा रहेका करिब ८० वटा पुराना शव यसअघि नै राखिएका छन्।
‘अब करिब १० वटा शव थपिएपछि राख्न सकिने ठाउँ रहन्छ,’ चौधरीले बताए।
शव व्यवस्थापनका लागि स्थान अभाव
बाढीपछि पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन गर्न सरकारले कानुनी प्रक्रिया अघि बढाउँदै जमिनमुनि गाड्ने काम थालेको छ। तर शव गाड्नका लागि समेत आवश्यक स्थानको अभाव रहेको शिक्षण अस्पतालले जनाएको छ।
चौधरीका अनुसार २०७२ सालको भूकम्पका बेला पनि पहिचान हुन नसकेका शवलाई गाडेर व्यवस्थापन गरिएको थियो। त्यसमध्ये पाँच शव एक वर्षपछि पहिचान भई परिवारको जिम्मा लगाइएको उनले बताए।
‘अहिले हामीसँग शव व्यवस्थापनका लागि स्थान अभाव छ। यस विषयमा प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नुपर्ने अवस्था छ,’ चौधरीले भने।
डीएनए नमुना सुरक्षित राखेर शव व्यवस्थापन
सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका (संशोधन), २०८३’ लाई आधार बनाएर पहिचान नखुलेका शवको व्यवस्थापन अघि बढाएको हो।
निर्देशिकाअनुसार शव गाड्नुअघि डीएनए लगायतका महत्त्वपूर्ण आनुवंशिक नमुना अनिवार्य रूपमा संकलन गरी सुरक्षित राख्नुपर्ने व्यवस्था छ। भविष्यमा आफन्तले दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत पहिचान पुष्टि गर्न सकियोस् भन्ने उद्देश्यले नमुना सुरक्षित राखिन्छ।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ७३४ जनाको शव फेला परेको छ। तीमध्ये पहिचान हुन नसकेका ३८४ शवलाई कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिसकिएको जनाइएको छ।
बाढीपछि शव फेला पर्ने क्रम जारी रहेकाले शवगृहको क्षमता, पहिचान प्रक्रिया र शवको दीर्घकालीन व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ।









Facebook Comments