काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा शनिबार साँझ विद्युतीय सवारीसाधन (ईभी) चालकसहित खसेपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। दुर्घटनामा बेपत्ता भएका चालक र सवारीको खोजीका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएका छन्।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार गृहमन्त्री सुधन गुरुङले घटनास्थल पुगेर खोज तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन्। उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिँदै उनले खोजी अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

ad

दुर्घटनामा बेपत्ता भएका कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीका लागि १० वटा ड्रोन, गोताखोरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली परिचालन गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धार कार्यको समन्वय गरिरहेको जनाएको छ। समितिका अनुसार दुर्घटनास्थल गहिरो खोँचमा रहेको, नदीको पानी धमिलो भएको तथा किनारमा ठूला चट्टान रहेकाले खोजी अभियान चुनौतीपूर्ण बनेको छ।

उद्धार टोलीले बेपत्ता चालक र नदीमा खसेको सवारीको खोजी निरन्तर जारी राखेको छ।