काठमाडौं । केन्द्रमा एमाले र नेकपाबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति भएसँगै कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषय एमालेभित्रै विवादको केन्द्र बनेको छ। मुख्यमन्त्री तथा एमाले सचिव हिक्मत कार्कीले पार्टी सचिवालयको औपचारिक निर्णयबिना पद नछाड्ने अडान लिएपछि नेतृत्व परिवर्तन तत्काल हुने सम्भावना कमजोर देखिएको छ।

पार्टी स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशमा नयाँ नेतृत्व ल्याउने पक्षमा छन्। उनले प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेको चर्चा छ। तर कार्कीले मौखिक निर्देशनका आधारमा राजीनामा नदिने स्पष्ट सन्देश नेतृत्वलाई दिएका छन्।

ad

स्रोतका अनुसार शुक्रबार भएको भेटमा कार्कीले आफू नेतृत्वमा रहँदा सरकारले नतिजामुखी काम गरिरहेको भन्दै तत्काल पद छाड्नुपर्ने कुनै आधार नरहेको धारणा अध्यक्ष ओलीसमक्ष राखेका थिए। यदि नेतृत्व परिवर्तन आवश्यक ठानिएको हो भने पार्टी सचिवालयबाट औपचारिक निर्णय हुनुपर्ने उनको अडान रहेको बताइएको छ।

कार्कीको यो अडानले एमालेभित्र दुई धार देखिएको छ। अध्यक्ष ओली नयाँ नेतृत्वको पक्षमा देखिएका छन् भने केही शीर्ष नेताले कार्कीलाई निरन्तरता दिनुपर्ने मत राखेको बताइन्छ। यसले प्रदेश सरकारको नेतृत्व परिवर्तन सहज नहुने संकेत गरेको छ।

शनिबार विराटनगर पुगेका कार्कीले प्रदेश नेतृत्वसँगको छलफलमा पनि पार्टीको आधिकारिक निर्णयबिना आफूले मुख्यमन्त्री पद नत्याग्ने धारणा दोहोर्याएको स्रोतको भनाइ छ। उनले सम्मानजनक ढंगले नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिएको बताइएको छ।

यता एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने मुख्यमन्त्री परिवर्तनबारे पार्टीका कुनै पनि औपचारिक कमिटीले निर्णय नगरेको बताएका छन्। त्यसैले अहिले नेतृत्व परिवर्तनको विषय औपचारिक प्रक्रियामा प्रवेश गरिनसकेको उनको भनाइ छ।

संवैधानिक व्यवस्थाअनुसार वर्तमान मुख्यमन्त्रीले राजीनामा नदिएसम्म वा अन्य संवैधानिक प्रक्रिया अघि नबढेसम्म नयाँ सरकार गठन सम्भव हुँदैन। त्यसैले कार्कीको निर्णयले कोशी प्रदेशको नयाँ सत्ता समीकरण तत्काल कार्यान्वयनमा जान चुनौती थपिएको छ।

केन्द्रमा बनेको एमाले–नेकपा सहकार्य प्रदेशसम्म विस्तार गर्ने तयारी भइरहेका बेला कोशी प्रदेशको नेतृत्व परिवर्तन भने पार्टीभित्रकै शक्ति सन्तुलन र औपचारिक निर्णयमा निर्भर रहने देखिएको छ।