
काठमाडौं । केन्द्रमा एमाले र नेकपाबीच नयाँ सत्ता सहकार्यको सहमति भएसँगै त्यसको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ। सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले पदबाट राजीनामा दिएका छन्।
कांग्रेसबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले आफ्नो राजीनामा पार्टीको संसदीय दलमा बुझाएका हुन्।
कांग्रेस प्रमुख सचेतक जमुना ढकालका अनुसार मन्त्रीहरूको राजीनामा पार्टीले प्राप्त गरिसकेको छ। ती राजीनामापत्र सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष औपचारिक रूपमा पेश गरिनेछ।
हाल लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको गठबन्धन सरकार सञ्चालनमा छ। कांग्रेस सरकारबाट बाहिरिएपछि केन्द्रको नयाँ राजनीतिक समीकरणअनुसार सरकार पुनर्गठनको प्रक्रिया अघि बढ्ने भएको छ।
मुख्यमन्त्री आचार्यले केन्द्रको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठनका लागि आवश्यक छलफल सुरु भइसकेको बताए। उनले सरकारमा हाल सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेत निरन्तर साथमै राख्ने तयारी भइरहेको जानकारी दिए।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। एमालेसँग २९, कांग्रेससँग २७, नेकपासँग सभामुखसहित १३ सांसद छन्। त्यसबाहेक राप्रपा, जनमत, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व छ।
एमाले र नेकपाको नयाँ समीकरणले सरकार गठनका लागि बहुमत पुर्याउन साना दल वा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। यही समीकरणलाई ध्यानमा राख्दै प्रदेश सरकार पुनर्गठनको प्रक्रिया एक–दुई दिनभित्र अघि बढ्ने जनाइएको छ।










Facebook Comments