काठमाडौ । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास भएको ७ बर्षपछि भोलि सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना देशको पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सम्पन्न हुनुपर्नेमा कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो।

ad

मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने इभ्याकुएसन टनेल र क्रस–प्यासेजसहित कुल सुरुङ संरचनाको लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ।

उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्ष सहभागी हुनेछन्। उद्घाटनपछि सुरुआती चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ।

विभागका अनुसार उद्घाटनपछि सुरुङभित्र सुरक्षा प्रणालीको परीक्षणका लागि ‘मक ड्रिल’ सञ्चालन गरिनेछ। जेट फ्यान, भेन्टिलेसन प्रणाली तथा अन्य प्राविधिक उपकरणको परीक्षण सम्पन्न भएपछि करिब एक सातासम्म एकतर्फी रूपमा सवारी सञ्चालन गरिनेछ। सबै परीक्षण सफल भएमा करिब एक महिनाभित्र सुरुङमार्ग सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिने योजना छ। दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।


काठमाडौं भित्रिँदा र बाहिरिँदा कार–भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।