
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक राजनीति र महाधिवेशनसम्बन्धी विवादभन्दा अहिले विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले पार्टीको महाधिवेशन, नेतृत्व र आन्तरिक छलफल नियमित राजनीतिक प्रक्रिया भए पनि मुलुक गम्भीर विपद्मा रहेका बेला राजनीतिक जोडघटाउभन्दा जनताको समस्या समाधानमा ध्यान दिनुपर्ने बताएका हुन्।
कांग्रेसभित्र महाधिवेशन र पार्टीको संरचनालाई लिएर विवाद चर्किरहेका बेला थापाले आइतबार नै संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्का र शेखर कोइरालासँग समेत भेटवार्ता गरेका थिए।
बैठकमा ती भेटबारे जानकारी दिँदै थापाले पार्टीका शीर्ष नेतासँगको संवादभन्दा अहिले विपद् प्रभावित नागरिकसँगको प्रत्यक्ष सम्पर्क आफ्नो प्राथमिकतामा रहेको बताए।
“शेरबहादुर देउवा, डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालगायतका नेतासँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो। तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको समस्या समाधान र उहाँहरूसँगको संवाद बढी महत्त्वपूर्ण छ,” थापाले भने।
उनले बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ता उद्धार, राहत र स्थानीयस्तरको सहयोगमा खटिएको जानकारी दिए।
थापाले यस वर्षका दशैं, तिहारलगायत चाडपर्वमा समेत विपद् प्रभावित नागरिकलाई छाडेर विश्राम नगर्ने प्रतिबद्धता जनाए। संकटको अवस्थामा पार्टीका नेता–कार्यकर्ता प्रभावित क्षेत्रमै रहेर सहयोग गर्ने उनको भनाइ छ।
‘भौतिक राहतसँगै भावनात्मक साथ आवश्यक छ’
सभापति थापाले रसुवा र नुवाकोटका अति प्रभावित क्षेत्रको स्थलगत भ्रमणका क्रममा देखेको अवस्था अत्यन्तै हृदयविदारक रहेको बताए।
उनका अनुसार बेत्रावती, उत्तरगया, स्याफ्रुबेंसी, नौकुण्ड र गुम्बाडाँडालगायतका क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। सडक सञ्जाल विच्छेद हुँदा प्रभावित बस्तीमा राहत तथा उद्धार सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको उनले बताए।
स्थलगत भ्रमणका क्रममा धेरै परिवारले आफ्ना सदस्य गुमाएको र कतिपय परिवार नै पूर्ण रूपमा प्रभावित भएको थापाले जानकारी दिए।
“यो साधारण विपद् मात्र होइन, महाविपत्ति हो। हामी अन्तिम माइलसम्म पुगेर पीडित नागरिकको साथमा रहन्छौँ। हामीले गर्न सक्ने मात्र होइन, अतिरिक्त शक्ति लगाएर भए पनि गर्नुपर्ने सबै काम गर्नेछौँ,” उनले भने।
पुनःस्थापना र पुनर्निर्माण राज्यको प्राथमिकता हुनुपर्ने भए पनि अहिले पीडितलाई भौतिक सहयोगसँगै करुणा, सहानुभूति र भावनात्मक साथ आवश्यक रहेको उनले बताए।
उनका अनुसार विपद्को असरबाट पीडित परिवारलाई केवल राहत सामग्री दिएर मात्र राज्यको दायित्व पूरा हुँदैन। आफन्त गुमाएका र परिवारका सदस्य बेपत्ता भएका नागरिकको मानसिक तथा सामाजिक अवस्थालाई समेत सम्बोधन गर्नुपर्ने हुन्छ।
बेपत्तालाई लिएर कानुनी व्यवस्था बदल्न माग
थापाले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई हालको कानुनी व्यवस्थाले थप समस्यामा पार्न सक्ने भन्दै त्यसमा तत्काल सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।
मुलुकी देवानी संहितामा रहेको व्यवस्थाअनुसार लामो समयसम्म बेपत्ता व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्न कठिन हुने भएकाले विपद् प्रभावित परिवारले सम्पत्ति, सामाजिक सुरक्षा, बीमा तथा अन्य कानुनी अधिकार प्रयोग गर्न समस्या भोग्न सक्ने उनको भनाइ छ।
बेपत्ता व्यक्तिका परिवारले मृत्युसंस्कार गर्नसमेत कानुनी अन्योलमा पर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले विशेष विपद्का घटनामा लागू हुने छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको बताए।
उनले निश्चित प्रमाण र परिस्थितिका आधारमा स्थानीय सरकारलाई मृत्यु प्रमाणित गर्नसक्ने अधिकार दिने गरी कानुन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
थापाका अनुसार अहिलेको संकटमा उद्धार र राहतसँगै बेपत्ता परिवारलाई कानुनी सहजता उपलब्ध गराउनु पनि राज्यको जिम्मेवारी हो।
महाधिवेशन प्रक्रिया नरोकिए कांग्रेस विभाजन हुन्छ : रमेश लेखक
कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशनको प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन्। महाधिवेशनको प्रक्रिया यथावत् अघि बढे पार्टी विभाजनको अवस्था आउन सक्ने उनले चेतावनी दिएका छन्।
कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढ्न तयार रहेको बताए।
उनका अनुसार विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई हटाउने निर्णय भएपछि अहिलेको विवाद उत्पन्न भएको हो।
विशेष महाधिवेशन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरिसकेको छ। त्यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
लेखकले यसरी दुई फरक संरचनाबाट अघि बढिरहेको कांग्रेसलाई एउटै ठाउँमा ल्याउन विशेष महाधिवेशनबाट बनेको संरचना र १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिबीच सहमति खोज्नुपर्ने बताए।
‘गगनलाई हटाउने हाम्रो माग होइन’
लेखकले कांग्रेस सभापति गगनकुमार थापालाई पदबाट हटाउने आफ्नो पक्षको माग नरहेको स्पष्ट पारे।
उनका अनुसार १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनबाट बनेको संरचनामा समेटिन नसकेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा समावेश गरेर विवाद समाधान गर्न सकिन्छ।
त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था आए आफ्नो पक्षबाट पनि आवश्यक सदस्य थपेर बहुमत कायम गर्ने विकल्प आफूहरूले दिएको लेखकले बताए।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो पक्षको बहुमत कायम राख्न सक्ने भए पनि अन्य समूहबाट कम्तीमा एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूले गरेको उनले जानकारी दिए।
“हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,” लेखकले भने।
उनका अनुसार पार्टी एकता जोगाउन आफूहरूले करिब ११ महिनादेखि निरन्तर संवाद र सहमतिको प्रयास गरिरहेका छन्। अहिले पनि विवाद समाधानको बाटो खुला रहेको उनले बताए।
‘आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ’
लेखकले पार्टी विभाजन रोक्ने सबैभन्दा व्यवहारिक उपाय तत्काल महाधिवेशनको प्रक्रिया स्थगित गरेर संवाद अघि बढाउनु भएको बताए।
“अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,” उनले भने।
पार्टीको आधिकारिकतासम्बन्धी मुख्य विवाद अदालतमा विचाराधीन रहेकाले त्यसको फैसला नआएसम्म धैर्य गर्नुपर्ने उनको भनाइ छ।
अदालतबाट कुनै एउटा मुद्दामा आफ्नो पक्षमा फैसला आए त्यसलाई नै कांग्रेसभित्रको सम्पूर्ण विवादको अन्तिम समाधानका रूपमा लिन नहुने लेखकले बताए। उनका अनुसार मुख्य कानुनी प्रश्नहरू अझै विचाराधीन रहेकाले अदालतको प्रक्रियालाई सम्मान गरेर अघि बढ्नुपर्छ।
लेखकले पार्टी एकता कायम गर्ने जिम्मेवारी सबै पक्षको भए पनि महाधिवेशनको प्रक्रिया अघि बढाएर पार्टीलाई विभाजनको दिशामा लैजाने अवस्था सिर्जना भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिए।
उनले कांग्रेसलाई विभाजनबाट जोगाउन अन्तिम विकल्पका रूपमा भए पनि महाधिवेशन रोक्नुपर्ने र त्यसपछि आपसी संवादमार्फत साझा निकास खोज्नुपर्ने बताए।









Facebook Comments