काठमाडौं। मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शनिबार बिहान पहिरो खस्दा एक बालकको मृत्यु भएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्बन्धित निकायलाई तत्काल राहत, उद्धार र पीडित परिवारको सहयोगमा प्रभावकारी रूपमा जुट्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक बालकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

ad

शनिबार बिहान आएको ढुंगासहितको पहिरो पेमा लामाको घरमा सञ्चालन हुँदै आएको होटलमाथि खसेको थियो। त्यहाँ सुतिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल पहिरोमा परेका थिए। घटनामा रमेश बडुवालको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्। पहिरोका कारण होटल रहेको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घटनापछि आसपासका आठ वटा घरसमेत पहिरोको उच्च जोखिममा परेपछि स्थानीय प्रशासनले ती घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ।