
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियताको लहरमा स्थापित हुने राजनीतिक शक्तिहरूको स्थायित्वप्रति प्रश्न उठाउँदै बालेन शाह नेतृत्वको सरकार लामो समय टिक्न कठिन हुने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले जनआकर्षणका आधारमा उदाएका राजनीतिक शक्तिहरूको उदय जति तीव्र हुन्छ, पतनको सम्भावना पनि त्यत्तिकै छिटो हुने तर्क गरे। उनका अनुसार केवल लोकप्रियताले मात्र दीर्घकालीन राजनीतिक आधार निर्माण गर्न सक्दैन।
उनले भने, “बालेन सरकार लोकप्रियताको जगमा बनेको हो। कुनै शक्ति जति छिटो उदाउँछ, त्यसको पतन पनि त्यति नै छिटो हुन सक्छ। अहिले उनीहरू नाटकीय रूपमा स्थापित भएका छन्, त्यसको प्रभाव पनि त्यस्तै देखिन सक्छ।”
रास्वपाको प्रभाव कमजोर भए त्यसको प्रत्यक्ष राजनीतिक लाभ एमालेलाई नै पुग्ने भन्ने निश्चित आधार नरहेको पनि पोखरेलले बताए। उनले युवा पुस्तामा एमालेप्रति अपेक्षित आकर्षण बढ्न नसकेको स्वीकार गर्दै पार्टीका अधिकांश कार्यक्रममा अझै पनि पुरानै पुस्ताका कार्यकर्ताको उपस्थिति बढी देखिने गरेको उल्लेख गरे।
महासचिव पोखरेलले कम्युनिस्ट आन्दोलन अहिले चुनौतीपूर्ण चरणमा रहेको टिप्पणी गर्दै विगतमा नेकपा गठनपछि शक्तिशाली सरकार सञ्चालन गर्दा पनि विभिन्न सामाजिक समूह र वर्ग पार्टीबाट क्रमशः टाढिँदै गएको अनुभव सुनाए।
उनले एमालेसँग लामो समयदेखि आबद्ध कार्यकर्ता र उनीहरूका परिवार पार्टीको मुख्य आधार भए पनि बदलिँदो राजनीतिक परिवेशलाई गम्भीर रूपमा बुझेर संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।










Facebook Comments