
काठमाडौं – होटल संघ नेपाल (हान) ले बागमती प्रदेशमा होटल तथा आतिथ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन बागमती प्रदेश तदर्थ समिति गठन गरेको छ।
पर्यटन आगमन बढी हुने प्रदेशहरूलाई प्राथमिकतामा राख्दै संस्थाको संगठन विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश समिति गठन गरिएको हो। तदर्थ समितिको अध्यक्षमा रामसुन्दर बके, उपाध्यक्षमा नेत्रजंग थापा, महासचिवमा शिवराज दुवाडी, कोषाध्यक्षमा लीना खड्का र सदस्यहरुमा समीर लामा, राजाराम सिलवाल, विनोद जिरेल छन् भने सल्लाहकारहरुमा घनश्याम श्रेष्ठ, ज्ञानेन्द्रकुमार बिष्ट, प्रेमकान्त श्रेष्ठ र सत्यराम सुवाल रहेका छन् ।
शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समिति घोषणा गरेको हो । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नयाँ कार्यसमितिलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि तथा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यका साथ मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको बर्ताए।
समिति गठन कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपालका कार्यवाहक अध्यक्ष प्रवीणबहादुर पाण्डेले प्रदेशस्तरमा संगठन विस्तारले होटल व्यवसायलाई थप व्यवस्थित बनाउन, सेवा गुणस्तर अभिवृद्धि गर्न तथा नेपालको पर्यटन उद्योगलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
होटल एसोसिएसन नेपालको बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा चयन भएपछि पर्यटन तथा होटल व्यवसायी रामसुन्दर बकेले बागमती प्रदेशका होटल व्यवसायीहरूको साझा समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले कानुनी रूपमा सञ्चालन भएका होटलहरूको प्रवर्द्धन, व्यवसायीका हकहितको संरक्षण, नीति सुधार र पर्यटनमैत्री वातावरण निर्माणका लागि तदर्थ समिति सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाए।










Facebook Comments