
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको प्रत्यक्ष निरीक्षण र अनुगमनका लागि आफू स्वयं जानुको साटो सादा पोसाकमा 'स्पेशल टास्क फोर्स' खटाइने बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै गृहमन्त्री गुरुङले यस्तो घोषणा गरेका हुन्।
सीमा नाकाहरूमा आफू जाँदा ठूलो सुरक्षा घेरा हुने भएकाले वास्तविक समस्या थाहा पाउन गाह्रो हुने र कतिपयले त्यसलाई 'स्टन्ट'को संज्ञा दिने गरेकाले कार्यशैली परिवर्तन गर्न लागिएको उनले स्पष्ट पारे। गृह मन्त्रालय मातहत रहने गरी बनाइने विशेष कार्यदलले सादा पोसाकमै सीमा क्षेत्रमा पुगेर नागरिकले भोगेका सास्ती र अनुगमनको वास्तविक स्थिति मन्त्रालयमा रिपोर्टिङ गर्नेछ।
खुल्ला नेपाल-भारत सीमाका कारण तस्करी तथा लागुऔषधको अवैध ओसारपसार नियन्त्रणमा चुनौती थपिएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले आफूले दिएका निर्देशनहरू तल्लो तहसम्म कार्यान्वयन भए/नभएको जाँच्न यसअघि छड्के निरीक्षणमा जाने गरेको सुनाए। सुरक्षाकर्मीबिना जाँदा मन्त्री हराएको हल्ला फैलाइने र सुरक्षाकर्मीसहित जाँदा काम गर्न सहज नहुने स्थिति बनेपछि अब संयन्त्रमार्फत नै सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ।
विगतमा मधेश, कर्णाली र सुदूरपश्चिमका जनताको सास्तीमाथि धेरै राजनीति भएको टिप्पणी गर्दै उनले अब ती क्षेत्रहरू गृह मन्त्रालयको विशेष प्राथमिकतामा रहने प्रतिबद्धता जनाए। जेनजी आन्दोलनपछि बजेट तथा स्रोत व्यवस्थापनमा ती प्रदेशहरूलाई प्राथमिकता दिइएको स्मरण गराउँदै उनले अब नागरिकका दुःख र आँसुमा आधारित राजनीति अन्त्य गर्दै समस्याको दीर्घकालीन समाधान खोजिने बताए।










Facebook Comments