काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसका साथै उनले भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गरी त्यहाँको न्यायिक अभ्यास र प्रणालीबारे जानकारी लिने कार्यक्रम समेत तय भएको छ।

ad

प्रधानन्यायाधीश डा. शर्मा साउन ११ गते स्वदेश फर्किने कार्यतालिका छ। उक्त भ्रमण दलमा प्रधानन्यायाधीशकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह-रजिष्ट्रार अमित उप्रेती सहभागी रहेका छन्। यस भ्रमणले नेपाल र भारतबीचको कानुनी तथा न्यायिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।