काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भई चरम मानसिक तनाव वा आत्महत्याको सोचमा पुगेका युवाहरूलाई हताश नहुन आग्रह गरेका छन्। काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै उनले संकटको घडीमा पार्टी नागरिकको साथमा रहने प्रतिबद्धता जनाए।

सभापति थापाले नेपाली युवाहरूलाई जीवनप्रति आशावादी बन्न अपिल गर्दै सामूहिक प्रयासबाट जस्तोसुकै संकट पनि हल गर्न सकिने विश्वास दिलाए। सम्बोधनका क्रममा थापाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको आदर्श स्मरण गर्दै नागरिकको दुःखमा सारथि बन्नु नै राजनीतिको मूल जिम्मेवारी भएको प्रष्ट पारे। केवल चुनावका बेला मात्रै जनताकहाँ जाने र उनीहरूको दैनिक पीडामा साथ नदिने प्रवृत्ति बीपीले परिकल्पना गरेको कांग्रेस हुन नसक्ने उनको भनाइ थियो।

ad

'कांग्रेसले महासमिति बैठक र विशेष महाधिवेशनमार्फत राजनीतिक गतिविधिसँगै सामाजिक सेवालाई पनि समान प्राथमिकता दिने नीति पारित गरिसकेको छ। अब पार्टीका प्रत्येक समितिले ५० प्रतिशत राजनीतिक कार्य र बाँकी ५० प्रतिशत काम बृहत्तर समुदायको हित तथा सामाजिक सेवामा केन्द्रित गर्नेछन्।'

विगत केही समयदेखि सञ्चालनमा रहेको ‘जरा अभियान’ को सफलतापूर्वक समापन भएको घोषणा गर्दै सभापति थापाले अब पार्टीले ‘नेपाली कांग्रेस फर नेसनल कज’ नामक नयाँ अभियान सुरु गरेको जानकारी दिए।

यस नयाँ अभियानमार्फत देशैभरका नागरिकको कल्याण, उनीहरूको अधिकारको संरक्षण र सामाजिक उत्तरदायित्वका कामहरूलाई केन्द्रमा राखेर पार्टी तल्लो तहसम्म सक्रिय हुने कांग्रेसले जनाएको छ।