काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको एकताको प्रयास अन्तिमसम्म जारी रहने स्पष्ट पार्दै सम्मान, स्वाभिमान र पार्टीको मूल सिद्धान्तमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्।

बीपी स्मृति दिवसको अवसरमा कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले पार्टीभित्रको वर्तमान विवाद समाधानका लागि पटक–पटक संवाद भए पनि अपेक्षित परिणाम ननिस्किएको बताए। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग विभिन्न चरणमा छलफल भए पनि सहमतिको वातावरण बन्न नसकेको उनको भनाइ थियो।

ad

उनले पार्टीभित्रको एकता केवल पद बाँडफाँटबाट सम्भव नहुने उल्लेख गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट बनेको संरचनाबीच समायोजन आवश्यक रहेको धारणा राखे। आफूहरूले कुनै पदको माग नगरेको र केवल संगठनात्मक एकीकरणको प्रस्ताव अघि सारेको उनले स्पष्ट पारे।

खड्काले पार्टी सभापतिले एकताको पहल नगरेसम्म संगठनलाई एकताबद्ध बनाउन कठिन हुने बताए। विशेष महाधिवेशन र नियमित महाधिवेशनबाट बनेका संरचनालाई समेटेर अघि बढ्न नेतृत्व तयार हुनुपर्ने उनको भनाइ थियो।

उनले एकताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता जनाउँदै सम्मान र स्वाभिमान गुमाएर कुनै पनि प्रकारको आत्मसमर्पण स्वीकार्य नहुने बताए। आवश्यक परे युवालाई अग्रपंक्तिमा राखेर आफूहरू संरक्षणकर्ताको भूमिकामा अघि बढ्ने उल्लेख गर्दै यसलाई व्यक्तिगत नेतृत्वको आकांक्षाका रूपमा नबुझ्न आग्रह गरे।

खड्काले पार्टी एकताको जिम्मेवारी अन्ततः सभापतिको काँधमा रहेको पनि बताए। उनले कांग्रेसलाई सुदृढ बनाउन सबै पक्षलाई समेट्ने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको धारणा व्यक्त गरे।