
काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिने मतभेद स्वाभाविक राजनीतिक प्रक्रिया भएको उल्लेख गर्दै ती विषय अन्ततः संवादमार्फत समाधान हुने बताएका छन्। उनले आन्तरिक विवादलाई सहमतिमा टुंग्याउँदै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाइने विश्वास व्यक्त गरे।
सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै शर्माले राजनीतिक दलभित्र फरक–फरक धारणा आउनु अस्वाभाविक नभएको बताए। उनले सबै विमतिलाई छलफल र संवादको माध्यमबाट सम्बोधन गर्दै सकारात्मक निष्कर्षमा पुग्ने बताए।
उपसभापति शर्माले अहिले पार्टीको मुख्य ध्यान साउन ६ गते मनाइने जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका कार्यक्रमलाई सफल बनाउनेतर्फ केन्द्रित रहेको जानकारी दिए। कांग्रेसले स्मृति दिवसका अवसरमा ‘ग्रीन रन’ सहित विभिन्न जनचेतनामूलक कार्यक्रम तथा साउन ७ गते विचार गोष्ठी आयोजना गर्ने तयारी गरेको उनले बताए।
बीपी स्मृति दिवसकै अवसरमा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पनि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको विषयमा सोधिएको प्रश्नमा शर्माले संयमित प्रतिक्रिया दिए। उनले बीपी कोइराला कुनै एक समूह वा कांग्रेसभित्र मात्र सीमित व्यक्तित्व नभई सम्पूर्ण नेपालीले सम्मान गर्ने राष्ट्रिय नेता भएको उल्लेख गरे।
उनका अनुसार बीपीको नाममा जहाँसुकै कार्यक्रम आयोजना भए पनि त्यसलाई कांग्रेसले सकारात्मक रूपमा लिन्छ र त्यसप्रति नकारात्मक टिप्पणी गर्ने पक्षमा छैन। उनले पार्टीभित्र सबै पक्षलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याए।









Facebook Comments