
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारलाई मुलुकको आर्थिक समृद्धि, उद्यमशीलता विकास र रोजगारी विस्तारको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। उनले पारदर्शी, व्यवस्थित र विश्वसनीय पुँजी बजार निर्माणका लागि आवश्यक सुधारमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुँजी बजारसँग सम्बन्धित निकाय र सरोकारवालासँग भएको छलफलमा प्रधानमन्त्री शाहले सुशासन र जवाफदेहितालाई प्राथमिकतामा राख्दै सकारात्मक कामलाई प्रोत्साहन र अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाइने बताए। उनका अनुसार सुदृढ पुँजी बजारले निजी क्षेत्रको विस्तारसँगै रोजगारी सिर्जना र समग्र अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
छलफलका क्रममा पुँजी बजारका प्रतिनिधिहरूले बजारलाई प्रतिस्पर्धी र दिगो बनाउन कानुनी, नीतिगत तथा संस्थागत सुधार अपरिहार्य रहेको धारणा राखे। उनीहरूले प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रियालाई थप प्रभावकारी बनाउने, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन कायम गरी मूल्य निर्धारण प्रणाली सुधार गर्ने तथा दैनिक कारोबारको आकार उल्लेखनीय रूपमा बढाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरे।
सरोकारवालाले मार्जिन कारोबारका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिए। साथै, धितोपत्रमा गरिएको लगानी बिक्री गर्न तोकिएको छ महिनाको प्रतिबन्ध हटाउने, सेयर धितो कर्जाको सीमा पुनरावलोकन गर्ने तथा लगानीमैत्री व्यवस्था लागू गर्नुपर्ने माग पनि राखिएको थियो।
उनीहरूले व्यक्तिगत लगानीकर्ताको नोक्सानीमा कर समायोजनको व्यवस्था गर्न, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता संस्थागत लगानीकर्ताको दोस्रो बजारमा सक्रिय सहभागिता बढाउन तथा गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली पुँजी बजारमा लगानी गर्ने कानुनी बाटो खुला गर्नुपर्ने आवश्यकता औँल्याए।
छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, धितोपत्र व्यवसायी, बीमा क्षेत्र, लगानीकर्ता तथा पुँजी बजारसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्टले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति र ‘नेपालको पुँजी बजार मार्गचित्र २०८३’ कार्यान्वयनमा आइसकेको जानकारी दिँदै त्यसअन्तर्गतका कार्यक्रम चरणबद्ध रूपमा अघि बढिरहेको बताए।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्सालले बैंकिङ, बीमा र पुँजी बजारसँग सम्बन्धित कानुन संशोधन प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए। उनले नेप्सेको पुनर्संरचना, प्रविधि सुधार तथा धितोपत्र बोर्डले तय गरेका नीतिअनुसार कारोबार प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने तयारी भइरहेको बताए।









Facebook Comments