
राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकासका लागि विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले विकासलाई पूर्वाधार विस्तारमा मात्र सीमित नराखी जनकल्याण, वातावरण संरक्षण र समावेशी समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।
आइतबार नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासका योजना बनाउँदा देशको इतिहास, भूगोल, संस्कृति, जातीय विविधता तथा वर्तमान पुस्ताको आवश्यकता र आकांक्षालाई समान रूपमा ध्यान दिनुपर्ने धारणा राखे। उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई तीव्र बनाउने दिशामा राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।
नेपाल भौगोलिक रूपमा जटिल भए पनि प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुक भएकाले विकासका पूर्वाधार दिगो, वातावरणमैत्री र विपद् प्रतिरोधी हुनुपर्ने राष्ट्रपति पौडेलले बताए। जलवायु परिवर्तनले सिर्जना गरिरहेको चुनौतीलाई ध्यानमा राख्दै सडक, पुल तथा जलविद्युत् आयोजनालगायतका संरचना प्राकृतिक विपद् सहन सक्ने ढंगले निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
उनले ‘हरित विकास’को अवधारणालाई राष्ट्रिय विकास नीतिको आधार बनाउनुपर्ने उल्लेख गर्दै वातावरण संरक्षण र आर्थिक विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले विकास, समावेशिता र मानवीय अधिकारका विविध आयामलाई संस्थागत गर्ने अवसर दिएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र संस्कृतिलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र संविधानले परिकल्पना गरेको समृद्ध र न्यायपूर्ण समाज निर्माणको लक्ष्य हासिल हुने बताए।









Facebook Comments