काठमाडौंको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिक आइतबार साँझ लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को कारबाहीका क्रममा प्रहरीले गोली चलाएको छ। घटनामा एक भारतीय नागरिक घाइते भएका छन् भने दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ब्युरोको टोली घटनास्थलमा पुगेको थियो। कारबाहीका क्रममा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी स्रोतले जनाएको छ।

ad

गोली लागेर घाइते भएका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

घटनामा संलग्न भएको आशंकामा घाइते भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ। घटनास्थलबाट लागुऔषध तथा अन्य प्रमाण संकलनका लागि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। बरामद सामग्रीबारे भने आधिकारिक विवरण आउन बाँकी छ।

घटनापछि टेकु क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। थप प्रहरी परिचालन गरी घटनास्थलको निगरानी गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध कारोबार, प्रहरीमाथि आक्रमणको प्रयासलगायतका विषयमा अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाएको छ।