
काठमाडाैं । गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीबाट नष्ट भएका मुद्दाका मिसिल पुनः संकलन गर्ने काम जारी रहेको छ। हालसम्म जलेका ६ हजार १२६ थान मिसिलमध्ये ३ हजार ३०७ थान पुनः प्राप्त भइसकेको उच्च अदालत पोखराले जनाएको छ।
अदालतका अनुसार उच्च अदालत पोखरामा नष्ट भएका २५७ मिसिलमध्ये २५० थान पुनः संकलन गरिएको छ। त्यसैगरी कास्की जिल्ला अदालतमा जलेका २ हजार ६५ मिसिलमध्ये १ हजार ९८९ थान प्राप्त भएका छन्। तनहुँ जिल्ला अदालतमा नष्ट भएका ३ हजार ८०४ मिसिलमध्ये १ हजार ६८ थान पूर्ण रूपमा तथा १५ थान आंशिक रूपमा पुनः प्राप्त भएको जनाइएको छ।
उच्च अदालत पोखराका उप–रजिस्ट्रार निलप्रसाद पनेरुका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय र सम्बन्धित मुद्दाका पक्षबाट प्राप्त कागजातको प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। मिसिलको अध्ययन, प्रमाणीकरण र व्यवस्थापनका लागि छुट्टै टोलीसमेत गठन गरिएको उनले बताए।
हालसम्म उच्च अदालतका ७, कास्की जिल्ला अदालतका ७६ र तनहुँ जिल्ला अदालतका २ हजार ७५१ मिसिल अझै प्राप्त हुन बाँकी रहेको अदालतले जनाएको छ।
उप–रजिस्ट्रार पनेरुले आगलागीबाट नष्ट भएका कागजात उपलब्ध गराउन सम्बन्धित पक्षलाई आह्वान गरिएको जानकारी दिँदै चालु मुद्दामा मिसिल नभएसम्म फैसला प्रक्रिया अघि बढाउन कठिन हुने बताए। फैसला भइसकेका मुद्दाका मिसिल पनि पुनः संकलन गरी प्रमाणीकरण गर्ने कार्य भइरहेको उनको भनाइ छ।
उनका अनुसार पुनः संकलनको काम जारी रहेकाले प्राप्त मिसिलको संख्या आगामी दिनमा थपिन सक्नेछ। पुनरावेदनका लागि सर्वोच्च अदालत पठाइएका केही मुद्दाका मिसिल पनि आगजनीका कारण नष्ट भएकाले पुनः संकलन गर्नुपर्ने अभिलेखको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
सर्वोच्च अदालतले जारी गरेको मिसिल कागजात प्राप्ति तथा प्रमाणीकरणसम्बन्धी निर्देशिका अनुसार नष्ट भएका अभिलेख पुनः संकलन गर्ने प्रक्रिया सञ्चालन भइरहेको अदालतले जनाएको छ।
गत वर्ष भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी हुँदा हजारौं मुद्दाका मिसिल तथा महत्वपूर्ण न्यायिक अभिलेख नष्ट भएका थिए।







Facebook Comments