काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच पार्टी एकता भएको छ महिनाभन्दा बढी समय बितिसक्दा पनि संगठनात्मक समायोजनको काम अझै टुंगिन सकेको छैन। नेतृत्व चयनदेखि केन्द्रीय समिति र पदाधिकारी व्यवस्थापनसम्मका विषयमा सहमति जुट्न नसक्दा एकीकृत पार्टीको संरचनाले पूर्णता पाउन ढिलाइ भएको हो।

गत पुसमा सम्पन्न एकतापछि उपेन्द्र यादव अध्यक्ष र महन्थ ठाकुर संरक्षक रहने व्यवस्था गरिएको थियो। तर त्यसयता अन्य पदाधिकारीको टुंगो लाग्न सकेको छैन। पार्टी दर्ताका क्रममा बनाइएको ५२ सदस्यीय केन्द्रीय समन्वय समितिसमेत प्रभावकारी रूपमा सक्रिय हुन नसकेको नेताहरू बताउँछन्।

ad

समायोजन प्रक्रियालाई अघि बढाउने उद्देश्यले दुवै पक्षले अब आ–आफ्ना पुराना कार्यकारिणी समितिको बैठक बोलाउने तयारी गरेका छन्। जसपा नेपालले एकताअघिको कार्यकारिणी समितिको बैठक आह्वान गरिसकेको छ भने लोसपाले पनि त्यसैअनुसार छलफल अघि बढाउने तयारी गरेको जनाइएको छ।

पार्टीभित्रका नेताहरूका अनुसार एकता घोषणा भए पनि व्यवहारमा अझै दुवै समूह छुट्टाछुट्टै रूपमा सक्रिय देखिन्छन्। जसपा निकट नेताहरू बालकुमारीस्थित केन्द्रीय कार्यालयमा केन्द्रित हुने गरेका छन् भने लोसपा पृष्ठभूमिका नेताहरू संरक्षक महन्थ ठाकुरसँगै सिंहदरबारस्थित संसदीय दलको कार्यालय वा उनको निवासमा बढी भेटिने गरेका छन्। यसले संगठनात्मक एकताको अनुभूति हुन नसकेको टिप्पणी पार्टीभित्रै हुने गरेको छ।

पार्टी स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुरबीच नियमित संवादको अभावले पनि समायोजन प्रक्रिया प्रभावित भएको छ। औपचारिक भेटघाट कम हुनु र संगठनात्मक निर्णयमा पर्याप्त छलफल हुन नसक्दा आवश्यक गृहकार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको बताइन्छ।

जसपा नेपालका नेता शैलेन्द्र साहले भने समायोजन प्रक्रियामा कुनै विवाद नरहेको दाबी गरे। उनका अनुसार दुवै पक्षले आन्तरिक छलफल गरिरहेका छन् र सबैको राय समेटेर संगठनात्मक संरचना टुंग्याउने तयारी भइरहेको छ। पूर्वपार्टीका संरचनामा छलफल हुनु स्वाभाविक प्रक्रिया भएकाले त्यसलाई विवादका रूपमा बुझ्न नहुने उनले बताए।

यस्तै, पूर्व लोसपाका महासचिव तथा हालका जसपा नेपालका नेता विनोद सिंहले पनि समायोजनको गृहकार्य अन्तिम चरणमा पुगेको बताए। केही दिनभित्रै आवश्यक निर्णय हुने विश्वास व्यक्त गर्दै उनले सबै पक्षसँग परामर्श गरेर अघि बढ्दा संगठन थप बलियो हुने धारणा राखे।

स्रोतका अनुसार एकीकृत पार्टीका लागि २५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने प्रस्ताव छलफलमा छ। त्यसमा ६० प्रतिशत प्रतिनिधित्व जसपा नेपाल र ४० प्रतिशत लोसपालाई दिने आन्तरिक समझदारी भएको बताइन्छ। यही अनुपातका कारण पूर्व लोसपाका धेरै नेता नयाँ संरचनामा अटाउन कठिन हुने अवस्था देखिएको छ।

पदाधिकारी व्यवस्थापन पनि समायोजनको अर्को चुनौती बनेको छ। साविक लोसपामा ६५ जना पदाधिकारी रहेका थिए भने साविक जसपामा १८ जना मात्रै पदाधिकारी थिए। नयाँ संरचनामा सीमित पदाधिकारी रहने प्रस्तावका कारण विशेषगरी लोसपाबाट आएका नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नेतृत्व तहमा छलफल जारी रहेको बताइएको छ।