
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नी पत्नी मिरा पोखरेल (ध्वोजु) क्यान्सरबाट उपचाररत रहेको जानकारी दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले मिराको भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको बताएका हुन्।
पोखरेलले मिरालाई क्यान्सर भएको पुष्टि गरे पनि कुन प्रकारको क्यान्सर लागेको हो भन्नेबारे भने खुलाएका छैनन्। उनका अनुसार उपचार प्रक्रिया जारी रहेकाले आफू पनि अस्पतालमै रहनुपरेको छ।
यसका कारण पछिल्ला केही समयदेखि स्वदेशका राजनीतिक तथा सार्वजनिक गतिविधिमा नियमित रूपमा सहभागी हुन नसकेको उनले बताएका छन्। उपचार अझै केही समय जारी रहने भएकाले आफ्नो सार्वजनिक उपस्थिति र राजनीतिक गतिविधि प्रभावित रहने जानकारी पनि उनले दिएका छन्।
पोखरेलले कठिन समयमा साथ, सहयोग र सद्भाव व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उपचार सफल होस् भन्दै शुभकामना दिने, सम्पर्कमा रहने तथा प्रत्यक्ष भेटेर हौसला प्रदान गर्ने आफन्त, साथीभाइ र शुभेच्छुकहरूप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।
मिरा पोखरेल पूर्व संविधानसभा सदस्यसमेत हुन्।









Facebook Comments