
काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबार हत्याकाण्डबारे प्रचलित विवरणप्रति असहमति जनाउँदै युवराज दीपेन्द्र शाहले परिवारका सदस्यहरूको हत्या गरेको भन्ने कथन सत्य नभएको दाबी गरेका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले २०५८ साल जेठ १९ गतेको घटनापछि तत्कालै एउटा पूर्वतयार कथा विश्वभर फैलाइएको टिप्पणी गरे। उनका अनुसार युवराज दीपेन्द्रले आफ्ना बुबा, आमा तथा परिवारका अन्य सदस्यको हत्या गरी अन्ततः आत्महत्या गरेको भनाइ तथ्यमा आधारित नभएको उनको दाबी छ।
ओलीले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर व्याख्या गरिएको विषयमा पनि प्रश्न उठाए। उनले घटनाको वास्तविकता अझै पूर्ण रूपमा सार्वजनिक हुन नसकेको उल्लेख गर्दै त्यसबारे निर्माण गरिएको कथाको स्रोत र त्यसलाई विश्वव्यापी रूपमा फैलाउने पक्षबारे स्पष्टता नरहेको बताए।
उनले यति ठूलो घटनामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले स्वतन्त्र रूपमा तथ्य खोज्नुभन्दा पुष्टि नभएका विवरणलाई नै व्यापक रूपमा प्रचार गरेको आरोपसमेत लगाए।
कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डबारे स्थापित भनाइलाई आफूले स्वीकार नगर्ने दोहोर्याए। उनले घटनाको सत्यतथ्य अझै बाहिर आउन बाँकी रहेको दाबी गर्दै यसबारे थप तथ्य सार्वजनिक हुनुपर्ने आवश्यकता औँल्याए।
दरबार हत्याकाण्डसम्बन्धी आधिकारिक छानबिन प्रतिवेदनमा भने तत्कालीन युवराज दीपेन्द्र शाहबाट गोली प्रहार भएको निष्कर्ष प्रस्तुत गरिएको थियो। अध्यक्ष ओलीले यसअघि पनि उक्त निष्कर्षप्रति असहमति जनाउँदै आएका छन्।










Facebook Comments