
अत्यधिक गर्मीका बिच कान्सास सिटीमा भएको रोमाञ्चक खेलमा स्वीट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना सन् २०२६ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले इङ्ल्यान्डको सामना गर्नेछ।
विवादास्पद बनेको यस खेलको अतिरिक्त समयमा जुलियन अल्भारेजले उत्कृष्ट प्रदर्शन गर्दै २५ यार्ड टाढाबाट प्रहार गरेको बललाई स्वीस गोलकिपर ग्रेगोर कोबेलले रोक्ने कुनै मौका पाएनन् र सोही गोल नै निर्णायक बन्यो।
दोस्रो हाफमा नाटकीय रूपमा १० खेलाडीमा समेटिएपछि पनि बहादुरीका साथ रक्षात्मक खेल खेलेको स्वीट्जरल्यान्डका लागि यो हार निकै पीडादायी रह्यो। भिडियो असिस्टेन्ट रेफ्री (VAR) को निर्णयपछि स्टार स्ट्राइकर ब्रिल एम्बोलोले 'डाइभिङ' (फाउलको नाटक) गरेको भन्दै दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाएका थिए।
खेलको सुरुमा हाफ-वे लाइन नजिकै एम्बोलोलाई लेआन्द्रो पारेदेसले फाउल गरेको देखिएको थियो, जसका कारण पारेदेसले पहेँलो कार्ड पाएका थिए। तर, रेफ्रीलाई 'गलत पहिचान' (mistaken identity) को नियम अन्तर्गत जाँच गर्न भीएआर (VAR) ले बोलायो। रिप्लेमा स्वीस खेलाडी एम्बोलोले स्पष्ट रूपमा फाउलको नाटक गरेको देखियो। जसका कारण पारेदेसको पहेँलो कार्ड खारेज गरियो र पहिले नै एक पहेँलो कार्ड पाइसकेका एम्बोलोलाई मैदान बाहिर पठाइयो। यस निर्णयले स्वीस टोलीमा आक्रोश र एम्बोलोमा निराशा छाएको थियो।
एम्बोलोले रातो कार्ड पाउनु ठीक ५ मिनेट अघि मात्र स्वीट्जरल्यान्डले खेलमा बराबरी गोल फर्काएको थियो। साविक विश्व विजेता अर्जेन्टिना विरुद्धको यस खेलमा स्वीट्जरल्यान्डले धेरै समय बलियो पकड बनाएको थियो र गोल फर्काउन हकदार पनि थियो।
खेलको १०औँ मिनेटमै लियोनेल मेसीको कर्नरमा अलेक्सिस म्याक अलिस्टरले नजिकैको पोस्टबाट हेडमार्फत गोल गरेपछि अर्जेन्टिनाले सहजै सेमिफाइनलको यात्रा तय गर्ने अनुमान गरिएको थियो। तर, अर्जेन्टिनाले सो अग्रतालाई बढाउन सकेन र स्वीट्जरल्यान्डले खेलमा बिस्तारै पुनरागमन गर्यो। खेलको ६७औँ मिनेटमा नटिंगघम फरेस्टका विङ्गर ड्यान न्डोएले गोल गर्दै खेललाई बराबरीमा ल्याए। न्डोएले बायाँ तर्फबाट बल अगाडि बढाउँदै रिकाडो रोड्रिगेजसँग 'वान-टु' पास खेलेर अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजको खुट्टाको मुनिबाट बललाई जाली चुमाएका थिए।
तर, एम्बोलोले रातो कार्ड पाएपछि अर्जेन्टिनाले खेलमा पुनः आफ्नो दबाब बनायो। लामो संघर्षपछि अल्भारेजको त्यो जादुई गोलले अर्जेन्टिनालाई राहत दिलायो।
खेलको अन्त्यतिर स्वीट्जरल्यान्डले पुनः बराबरी गर्ने प्रयास गरे पनि अर्जेन्टिनाले काउन्टर अट्याकमा अर्को गोल थप्यो। लाउतारो मार्टिनेजले सहजै गोल गर्दै अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपनालाई कायमै राखे।










Facebook Comments