
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । बोस्टन स्टेडियममा भएको रोमाञ्चक क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । फ्रान्सलाई जित दिलाउन दोस्रो हाफमा कप्तान किलियन एम्बाप्पे र उसमान डेम्बेलेले एक–एक गोल गरे । यस जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक र गोलरहित बराबरीमा सकिएको था । पहिलो हाफमा फ्रान्सले केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेको थिएन । खेलको सुरुवाती चरणमै एम्बाप्पेले पेनाल्टीको अवसर गुमाउँदा फ्रान्स अग्रता लिनबाट चुकेको थियो । तर, दोस्रो हाफमा आक्रामक रणनीतिसहित मैदान उत्रिएको फ्रान्सका लागि ६० औं मिनेटमा कप्तान एम्बाप्पेले डेडलक तोडे । डेसिरे डौको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै एम्बाप्पेले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे । जारी प्रतियोगितामा एम्बाप्पेको यो आठौं गोल हो, जसका साथ उनी गोल्डेन बुटको दौडमा लियोनेल मेस्सीको बराबरीमा पुगेका छन् ।
त्यसको छ मिनेटपछि नै अर्थात् ६६ औं मिनेटमा उसमान डेम्बेलेले बक्स बाहिरबाट दाहिने खुट्टाले प्रहार गरेको शक्तिशाली सट मोरक्कोका गोलकिपर यासिन बोनोको हातमा लाग्दै जाली चुमेपछि फ्रान्सले आफ्नो अग्रता दोब्बर बनायो । दुई गोलले पछि परेको मोरक्कोले खेलको अन्तिम ह्विसलसम्म पुनरागमनका लागि कडा संघर्ष गरे पनि फ्रान्सको बलियो रक्षापंक्ति र अनुभवी प्रदर्शनका सामु उसको केही सीप लागेन । यस पराजयसँगै मोरक्कोको अर्को एउटा ऐतिहासिक र प्रभावशाली विश्वकप यात्रा क्वाटरफाइनलमै टुंगिएको छ ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रिय टोलीलाई बधाई दिँदै खेलाडीहरूको प्रदर्शन र खेल भावनाको प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै उनले मोरक्कोलाई एक कडा र आदरणीय प्रतिद्वन्द्वीको रूपमा स्वीकार गरे र टोलीको प्रदर्शनले फ्रान्सको गौरव बढाएको बताए । उपाधि रक्षा गर्ने अभियानमा रहेको फ्रान्सले अब सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एक टोलीको सामना गर्नेछ ।










Facebook Comments