साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टामा मंगलबार राति भएको निकै रोमाञ्चक र तनावपूर्ण प्रिक्वाटरफाइनल (राउन्ड अफ १६) खेलमा इजिप्टमाथि ३–२ गोलको पुनरागमन जित निकाल्दै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेसी, क्रिस्टियन रोमेरो र इन्जो फर्नान्डेजले महत्वपूर्ण भूमिका खेले ।

ad

खेलको १५औँ मिनेटमा मार्वान अट्टियाको कर्नर पासमा यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको लगत्तै निकोलस टागलियाफिकोलाई डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि कप्तान लियोनल मेसीको प्रहारलाई इजिप्टका गोलरक्षक मोस्ताफा शोबेइरले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफमा १–० ले पछि परेको अर्जेन्टिना विरुद्ध खेलको ६७औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले मोहमद सलाह र हैसेम हसनको उत्कृष्ट काउन्टर अट्याक पासमा गोल गर्दै टोलीको अग्रता २–० मा पुर्‍याएका थिए ।दुई गोलले पछि परेपछि आक्रामक बनेको अर्जेन्टिनाले खेलको अन्तिम समयतिर उत्कृष्ट उत्कृष्ट पुनरागमन गर्‍यो । ७९औँ मिनेटमा मेसीको फ्रिकिक पासमा डिफेन्डर क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

त्यसको चार मिनेट लगतै ८३औँ मिनेटमा मेसीले बक्सको किनारबाट प्रहार गरेको बल गोलरक्षकको हात र क्रसबारमा लाग्दै गोलमा परिणत भएपछि खेल २–२ को बराबरीमा पुग्यो । खेल थप समय (एक्स्ट्रा टाइम) तर्फ धकेलिने निश्चित देखिँदै गर्दा इन्जुरी समयमा इन्जो फर्नान्डेजले उत्कृष्ट तल्लो कुनाको प्रहारमार्फत गोल गर्दै अर्जेन्टिनाको ३–२ को नाटकीय जित पक्का गरे । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।