काठमाडौँ । मिकेल मेरिनोको इन्जुरी समयको निर्णायक गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार विहान अमेरिकाको डलासमा सम्पन्न रोमाञ्चक प्रिक्वाटरफाइनल खेलमा स्पेनले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ad

खेलभरि नै दुवै टोलीले गोलका उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म खेल गोलरहित बराबरीमा रोकिएको थियो ।

तर, दोस्रो हाफमा मैदान छिरेका वैकल्पिक खेलाडीहरू फेरान टोरेस र मिकेल मेरिनोले थपिएको अतिरिक्त समय (९१ औँ मिनेट) मा उत्कृष्ट तालमेल मिलाउँदै स्पेनका लागि निर्णायक गोल गरे ।

टोरेसको पासलाई मेरिनोले क्लिनिकल फिनिसिङ दिँदै बललाई जाली चुमाएका थिए । यो हारसँगै पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको छैटौँ संस्करणको विश्वकप यात्रा स्तब्ध बन्दै सुखद अन्त्य हुन पाएन ।

खेलको सुरुवातदेखि नै दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए । पहिलो हाफमा स्पेनका मिकेल ओयार्जाबाल र लामिन यामालले केही राम्रा अवसर बनाए पनि पोर्चुगिज गोलकिपर डिओगो कोस्टा बाधक बने । यता पोर्चुगलका तर्फबाट ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले प्रहार गरेको उत्कृष्ट सटलाई स्पेनका गोलकिपर उनाई सिमोनले विफल पारिदिएका थिए ।

पहिलो हाफको अन्त्यतिर नुनो मेन्डेसको प्रहार क्रसबारमा ठोकिएपछि पोर्चुगलले अग्रता लिने अवसर गुमायो । दोस्रो हाफमा पनि पोर्चुगलका जोआओ फेलिक्स र रोनाल्डोले गोलका प्रयास गरे पनि बललाई पोस्टको दिशा दिन सकेनन् । खेलको अन्तिम समयमा मिकेल मेरिनोको गोलले पोर्चुगलको यात्रा समाप्त पारिदियो भने खेलको अन्तिम क्षणमा बर्नार्डो सिल्भाले बराबरी गर्ने सुवर्ण अवसर गुमाउँदा पोर्चुगल प्रतियोगिताबाटै बाहिरिन पुग्यो ।