
‘मानो रोपेर मुरी फलाउने’ भनाइअनुरूप मुलुकको प्रमुख बाली धान रोप्ने समय असार महिना सुरु भइसके पनि यसलाई चाहिने रासायनिक मलको अभाव हुन नदिने सरकारले ‘डिङ’ हाँके पनि किसानहरू यस वर्ष पनि मल अभाव हुने कुरा बताइरहेका छन् । नेपालमा प्रमुख बालीहरू धान र मकै रोप्ने÷छर्ने÷गोड्नेबेलामा सदैव रासायनिक मलको हाहाकार हुने नियति नै बनिरहेको सन्दर्भमा यसपटक पनि त्यही कुरो दोहोरिन्छ भनेर किसानहरू चिन्तित देखिएका छन्, तर मल सहज तरिकाले उपलब्ध दाबी गरिरहेको वर्तमान सरकारले त्यसको व्यवस्थापनमा कुनै विश्वासिलो कार्य गरिरहेको देखिएको छैन । त्यसैले यसपटक पनि मलको हाहाकार निश्चित छ ।
मल खरिदमा सरकारको ठूलो बजेट खर्च हुने, अन्तर्राष्ट्रिय बजारको खरिद प्रक्रिया, सप्लायर्स कम्पनीको ढिलासुस्तीलगायत कारणले गर्दा समयमा मल आयात हुन नसक्दा बाली लगाउने समयमा बर्सेनि मलको अभाव हुने गरेको छ । सरकारले मल वितरणलाई पारदर्शी एवं व्यवस्थित गर्न नसक्दा पनि किसानमा मर्कामा परेका छन् । औसतभन्दा कम वर्षा, मलको अभाव र इन्धनको मूल्यवृद्धिले देशको कृषि क्षेत्रमा गम्भीर संकट उत्पन्न गराउँदा बालीको उत्पादन घट्ने, किसानहरूको आयस्रोत घट्ने र खाद्य असुरक्षा निम्त्याउने खतरा उत्पन्न गराएको छ ।
देशको मुख्य बाली धान रोप्ने र मलजल गर्ने समयमा कृषकलाई मल अभावको पीडाले नराम्ररी सताएको छ । मल आपूर्ति व्यवस्थापनको प्रत्यक्ष जिम्मा पाएका कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र तालुकदार निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल गोदाममा रहेको र बाटोमा आउँदै गरेको मौज्दातले यही असार महिनासम्म मात्र धान्ने बताउँदै आएका छन् ।
मुलुकभर १५ लाख हेक्टरमा धान खेती गरिँदै आएको सरकारी तथ्यांक छ । प्रायः सबै किसानले प्रांगारिकभन्दा रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले मागसमेत बढ्दै गएको हो । सरकारले मागको आधा मात्र मल विदेशबाट खरिद गर्ने र त्यसमा पनि समयमा आयात गर्न नसक्दा बर्सेनि मलको अभाव हुँदै आएको छ ।
कृषिप्रधान देशका नागरिकले हरेक वर्ष खेती लगाउने बेलामा मल अभावको समस्या झेल्नु विडम्बनापूर्ण अवस्था हो ।
बर्खा सुरु हुँदै गर्दा आमकिसानलाई मलको अभाव हुन नदिन सरकार गम्भीर हुनुपर्छ । रासायनिक मल अभावले कृषकको आयमा मात्र असर गरेको छैन । समग्र कृषि क्षेत्रको उत्पादकत्वमा पनि नकारात्मक प्रभाव पार्ने कुराको हेक्का सरकारले राख्नुपर्छ ।
मलको अभावको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले मल खरिद र वितरण प्रक्रियामा सुधार ल्याई पारदर्शी र द्रुतगतिमा आपूर्ति सुनिश्चित गरेर सहकारी संस्था, किसान समूह र स्थानीय तहमार्फत वितरण प्रणालीलाई मजबुत बनाउन सकिन्छ । यसका साथै बिचौलियाको प्रभाव नियन्त्रण गर्दै कालोबजारीविरुद्ध कडाइका साथ निगरानी र कानुनी कारबाही आवश्यक छ । मुलुकमै मल उत्पादन गर्ने सम्भावना पहिचान गरी निजी क्षेत्रलाई सहभागी गराई दीर्घकालीन आत्मनिर्भरता हासिल गर्न पनि समस्या समाधानको उपाय हो ।
यदि सरकारले खरिद र वितरण प्रणालीमा सुधार गर्दै, बिचौलियाको नियन्त्रण गर्दै, आत्मनिर्भरता र जैविक उत्पादनप्रति ध्यान केन्द्रित गर्न सक्ने हो भने यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ ।
मलको माग, आपूर्ति र वितरण प्रणालीबीच उचित समन्वय नहुँदा किसानहरूले समयमै मल पाउन सकिरहेका छैनन् । सहकारीकेन्द्रित वितरण प्रणालीले पहुँच भएका किसानलाई केही सहज भए पनि सहकारीमा सदस्य नभएका किसानलाई भने समस्या थपिएको देखिन्छ ।
प्रत्येक वर्ष सरकार वा सम्बन्धित निकायले मल अभावको समस्या मात्रै देखाउनेभन्दा पनि ठोस समस्या पहिचान गरी समाधानको विकल्प अपनाउनुपर्नेमा त्यो देखिएको छैन । यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।










Facebook Comments