
तीन महिनाअघि कोशी प्रदेशको मोरङबाट सुरु भएको बर्ड फ्लु संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायत जिल्लामा पुष्टि हुनुले बर्ड फ्लु अहिले नेपालको लागि महामारीको रूपमा देखिएको छ । यसले पशुपन्छी मात्र होइन, मानवीय क्षतिलाई समेत निम्त्याउन सक्ने भएकोले सबै सचेत हुनु जरुरी छ । सरकारले पशुपन्छी नष्ट गर्ने कार्यमात्र गर्दैमा पोल्ट्री व्यवसायमा ह्रास आउने त छँदै छ मानवीय क्षति रोक्नलाई सचेतना अपनाउनुपर्ने कार्य गरेको देखिएको छैन । त्यसैले जनताहरू आफैँ सचेत भई क्षति हुनबाट बच्नुपर्ने देखिन्छ ।
नेपालमा पोल्ट्री व्यवसाय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गइरहेका बेला बर्ड फ्लुको संक्रमणले किसान र व्यवसायीलाई गम्भीर संकटमा धकेलेको छ । सुरुवातको चरणमा नै संक्रमण पहिचान गरी कडा निगरानी राख्न नसकिए बर्ड फ्लुले महामारीको रूप लिनसक्ने जोखिम अझै कायमै छ । समयमै कडा नियन्त्रण, नियमित निगरानी र किसानको सहकार्य बिना बर्ड फ्लु रोग नियन्त्रण सम्भव नभएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नु जरुरी छ ।
बर्ड फ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो । संक्रमण नियन्त्रणका लागि हालसम्म झन्डै ६ लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ । त्यस्तै साढे ५० लाखभन्दा बढी अण्डा र करिब दुई लाख किलो दाना पनि नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ । यसबाट हालसम्म ६० करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष क्षति भइसकेको छ, उत्पादन बन्द हुनु, फार्म खाली राख्नुपर्ने अवस्था सिर्जना हुनु र फेरि उत्पादन सुरु गर्न लाग्ने समयका कारण अप्रत्यक्ष रूपमा अर्बौंको क्षति भइसकेका अवस्था छ ।
नेपालमा पन्छीपालनले कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान पु¥याएको अवस्थामा बर्ड फ्लु संक्रमणले पन्छीपालन क्षेत्रलाई धरासायी बनाएको छ । सरकारले रोग अन्यत्र फैलिन नदिन संक्रमित फार्मका कुखुरा नष्ट गर्दा कुखुरापालक किसानलाई क्षतिपूर्ति त दिने गरेको छ । तर उक्त क्षतिपूर्ति पर्याप्त नभएको गुनासो किसानहरूको छ । बर्षेनी देखा पर्ने यो रोग नियन्त्रणको प्रभावकारी उपाय भनेको जैविक सुरक्षा अपनाउनु नै हो । जैविक सुरक्षा अपनाउदा रोग फार्ममा भित्रिन पाउदैन भने रोगको फैलावट पनि कम हुन्छ ।
यो रोगलाई तत्काल नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहने गरी बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखा परेको क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरी नियन्त्रणको प्रयास भइरहेको दाबी गरिए तापनि यो रोग नियन्त्रणको सट्टा झनझन बढिरहेको छ । व्यावसायिक रूपमा पालन गरिने कुखुरा र हाँसलगायतबाट मात्रै नभई रैथाने एवं बसाइँसराइ गर्ने चराहरूबाट पनि बर्ड फ्लुको भाइरस सर्ने गरेको चिकित्सकहरू बताउँछन् । केही दिनअघि जावलाखेलस्थित सदर चिडियाखानामा पन्छाी तथा जनावरहरूमा समेत बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । चिडियाखानाभित्र पन्छीमा मात्र नभई नीरबिरालो र चरीबाघजस्ता स्तनधारी जनावरमासमेत बर्ड फ्लु संक्रमण पुष्टि हुनु अत्यन्तै गम्भीर विषय हो । यो केवल पन्छीमा मात्र सीमित रहने रोग नभई जनावरबाट मानिसमा सर्न सक्ने प्रकृतिको भएकाले यसलाई हल्का रूपमा लिनु कदापि हुँदैन ।
मौसमी प्रभाव र जैविक सुरक्षामा सावधानी नअपनाउँदा बर्ड फ्लुको संक्रमण देखापरेको पशुसेवा विभागको भनाइ छ । बर्ड फ्लुको संक्रमण नियन्त्रणका लागि सरकार र किसानहरू दुवै पक्षले सचेत भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । पन्छी तथा जनस्वास्थ्यको सुरक्षाका लागि सबैको जिम्मेवारी आवश्यक छ । बर्ड फ्लुको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण पन्छीपालक किसान तथा व्यवसायीहरूले जैविक सुरक्षा मापदण्डको पालना गर्नु जरुरी छ । सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुला रूपमा गरिने पन्छी पालनलाई निरुत्साहित गरिनु आवश्यक छ ।
बिक्री–वितरणका लागि बजार लगिएका पन्छीहरू फिर्ता ल्याउनुपर्ने भएमा खोरका अन्य बथानसँग नमिसाई कम्तीमा १४ दिन अलग्गै राख्न, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न र कुनै पनि पन्छी फार्म वा अन्य पन्छी बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिनुपर्छ ।
फार्मको नियमित सरसफाइ, निगरानी तथा सचेतनाले यो रोगको जोखिम कम गर्न मद्दत गर्दछ । स्वस्थ पन्छी, सुरक्षित समुदाय र समृद्ध कृषिका लागि सबै मिलेर जिम्मेवार बनेर अगाडि बढनुपर्ने देखिन्छ । अनावश्यक हल्ला र त्रासभन्दा वैज्ञानिक तथ्यमा आधारित जानकारीलाई विश्वास गर्दै आवश्यक सावधानी अपनाउनु नै अहिलेको टड्कारो आवश्यकता बन्न पुगेको छ ।










Facebook Comments