काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको तीव्र मूल्यवृद्धि प्रति गम्भीर ध्यानाकर्षण गराउँदै मूल्य स्थिर नभएसम्म 'कन्सट्रक्सन होलिडे' घोषणा गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघले हालै जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिका कारण डिजेल, पेट्रोल, मट्टितेल, एलपी ग्यास लगायत इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको उल्लेख गरेको छ। 

ad

इन्धनसँगै बिटुमिन, फलामजन्य सामग्री र सिमेन्टको मूल्य पनि अस्वाभाविक रूपमा बढेको भन्दै यसले निर्माण व्यवसायीलाई ठूलो आर्थिक भार परेको विज्ञप्तिमा भनिएको छ।

सीमित आयातकर्ताहरूले बजारमा 'कार्टेलिङ' गरेर बिटुमिनको कृत्रिम अभाव सिर्जना गरेको व्यवसायीहरूले बताएका छन्। 

सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य प्रतिलिटर ४० रूपैयाँसम्म बढेको र यसको अभावले कालोपत्रे सडकमा गुणस्तरसम्बन्धी जोखिम बढेको महासंघको भनाइ छ।

यस्तै, फलामको मूल्य प्रतिकेजी करिब ८५ रूपैयाँबाट एक सय रूपैयाँसम्म पुगेको र सिमेन्टमा पनि प्रति बोरा ५० रूपैयाँसम्म वृद्धि भएको महासंघले बताएको छ। 

मूल्यवृद्धिका कारण निर्माण आयोजनाहरू आर्थिक रूपमा असन्तुलित बनेको र काम सञ्चालन गर्न कठिन भएको महासंघले जनाएको छ।

सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्रत्येक आयोजनामा मूल्य समायोजनको व्यवस्था गर्न माग गर्दै, मूल्यवृद्धि स्थिर नभएसम्म निर्माण कार्य स्थगित गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी महासंघले दिएको छ। 

राष्ट्र बैंकबाट जारी हुने  मूल्य सूचकांक वास्तविक अवस्थासँग मेल नखाले गरेकोले अमूल्य स्थिर नहुँदासम्मको लागि 'कन्ट्रक्सन होलिडे' गर्न सरकारलाई महासंघले अनुरोध गरेको हो। 

यसै सन्दर्भमा महासंघले निर्माण क्षेत्रको वर्तमान संकट समाधानका लागि तत्काल नीतिगत हस्तक्षेप गर्न र आवश्यक परे 'कन्ट्रक्सन होलिडे' घोषणा गर्न सरकारसँग औपचारिक रूपमा अनुरोध गरेको छ।