काठमाडौं।काठमाडौं उपत्यकामा आज सोमबार मोबाइल फोनमा अचानक साइरन बज्ने र आपत्कालीन सतर्कता सन्देश देखिन सक्ने भएको छ। सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ परीक्षण गर्न लागेकाले यस्तो सन्देश प्राप्त भए नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गर्दै प्रणाली परीक्षणका क्रममा केही मोबाइलमा आवाजसहित चेतावनी सन्देश आउन सक्ने जनाएका छन्। यस्तो सन्देश प्राप्त भएमा कुनै कदम चाल्न वा आत्तिन आवश्यक नरहेको मन्त्रालयहरूले स्पष्ट पारेका छन्।

ad

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट प्रणाली परीक्षण भइरहेको छ। परीक्षणका क्रममा उपत्यकाका सीमित मोबाइल प्रयोगकर्ताले मात्रै सन्देश प्राप्त गर्नेछन्।

यसअघि गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नेपाल टेलिकम र एनसेलले प्रभावित क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्तालाई सतर्कता सन्देश पठाएका थिए। तर कतिपय प्रयोगकर्ताले समयमै सूचना नपाएको तथा पुरानो प्रणाली प्रभावकारी नभएको गुनासो गरेपछि सरकारले नयाँ प्रविधिको परीक्षण अघि बढाएको हो।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का अनुसार सेल ब्रोडकास्ट प्रविधिबाट निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। यसका लागि प्रत्येक मोबाइल प्रयोगकर्ताको नम्बर छुट्टाछुट्टै आवश्यक पर्दैन।

यो प्रविधि विपद् व्यवस्थापनका दृष्टिले महत्वपूर्ण मानिन्छ। भूकम्प, बाढी, पहिरो तथा प्रतिकूल मौसमका बेला जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सचेत गराउन यसको प्रयोग गर्न सकिन्छ।

प्रणालीमार्फत मोबाइलको स्क्रिनमा चेतावनी सन्देश देखिनुका साथै विशेष आवाज र भाइब्रेसनसमेत आउने व्यवस्था हुन्छ। यसले सामान्य एसएमएसभन्दा छिटो र प्रभावकारी रूपमा जोखिमसम्बन्धी सूचना नागरिकसम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

परीक्षण सफल भई प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि विपद्का बेला जोखिम क्षेत्रमा रहेका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।