काठमाडौं।विभिन्न आर्थिक कसुरमा मुद्दा खेपिरहेका दीपक भट्टको थुनासम्बन्धी विवादमा सर्वोच्च अदालतले सम्बन्धित मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतमा दर्ता रहेको धितोपत्र कारोबारसम्बन्धी कसुरको सक्कल फाइल तथा सर्वोच्च अदालतबाट यसअघि भएको आदेश झिकाउन निर्देशन दिएको हो।

ad

इजलासले गत वैशाख २३ गते भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्ने सर्वोच्चको संयुक्त इजलासको आदेशसमेत अध्ययनका लागि माग गरेको छ। उक्त आदेश न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासबाट भएको थियो।

भट्टले आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश कानुनसम्मत नभएको जिकिर गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। सोही निवेदनमाथिको सुनुवाइका क्रममा सर्वोच्चले पूर्वआदेश र धितोपत्र कारोबारसम्बन्धी मुद्दाको सक्कल मिसिल अध्ययन गर्न आवश्यक ठानेको हो।

अदालतले काठमाडौं जिल्ला अदालतलाई धितोपत्रसम्बन्धी कसुरको सक्कल मिसिल इजलाससमक्ष अवलोकनका लागि पेस गर्न र त्यसपछि फिर्ता लैजान आदेश दिएको छ। सम्बन्धित कागजात प्राप्त भएपछि भट्टको थुनासम्बन्धी निवेदनमा थप निर्णय हुने अपेक्षा गरिएको छ।

हाल सिन्धुपाल्चोक कारागारमा रहेका भट्टमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र कारोबार, बिमा ऐन तथा विदेशी विनिमयसम्बन्धी कसुरमा विभिन्न अदालतमा मुद्दा विचाराधीन छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध विशेष अदालत, उच्च अदालत तथा काठमाडौं जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेका छन्।

सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐनअन्तर्गतको कसुरमा थुनामा पठाइएका भट्टले आफ्नो थुनालाई चुनौती दिँदै सर्वोच्चको ढोका ढकढक्याएका हुन्। सर्वोच्चले भने अहिले नै थुनाबारे अन्तिम निर्णय नगरी सम्बन्धित मिसिल र पुरानो आदेश अध्ययन गर्ने प्रक्रिया अघि बढाएको छ।