काठमाडौं।नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को २०औँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली नेपाल आइपुगेको छ।

नेपाली सेनाका अनुसार भारतीय सैनिक टोली आइतबार रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुल पुगेको हो। दुवै देशका सेनाबीच आलोपालो आयोजना हुँदै आएको उक्त अभ्यास मङ्सिर ९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ।

ad

यस संस्करणमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाको ज्वालादल गण सहभागी हुनेछन्।

वि.सं. २०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यासले नेपाल र भारतका सैनिकबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अभ्यासका क्रममा दुवै देशका सैनिकले अनुभव आदानप्रदान गर्नुका साथै व्यावसायिक क्षमता र संयुक्त रूपमा कार्य सञ्चालन गर्ने दक्षता अभिवृद्धिमा जोड दिनेछन्।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सूर्य किरण अभ्यासले दुई देशबीचको सैनिक सम्बन्धलाई संस्थागत रूपमा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।