
काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यस्तै, कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
त्यसैगरी, कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।









Facebook Comments