
काठमाडौं । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थामा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।
सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विश्वकर्मालाई पक्राउ गरेको हो।
गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको सार्वजनिक गर्दै बराह सहकारीमा भएको ठूलो आर्थिक हिनामिनाको अनुसन्धानले नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। उनका अनुसार सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ।
गुरुङले यस प्रकरणका मुख्य योजनाकार भनिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकार सफल भएको उल्लेख गरेका छन्। साथै, सहकारीका बचतकर्ताको रकम हिनामिनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरी कारबाही अघि बढाइने बताएका छन्।
गृहमन्त्री गुरुङका अनुसार धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका बेथितिविरुद्ध आवाज उठाउँदा उनले पूर्वी नेपालका सहकारी पीडितहरूको समस्याबारे जानकारी पाएका थिए।
त्यतिबेला अभियन्ताका रूपमा रहँदा तथा जेनजी आन्दोलनपछिका विभिन्न प्रयासका बाबजुद पीडितलाई तत्काल न्याय दिलाउन नसकिएको उनको भनाइ छ। गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने बराह सहकारीको रकम हिनामिनासम्बन्धी अनुसन्धान र दोषीको खोजीलाई तीव्रता दिइएको उनले बताएका छन्।
बराह सहकारीमा भएको अर्बौं रुपैयाँको हिनामिनाबाट ठूलो संख्यामा बचतकर्ता प्रभावित भएका छन्। आफ्नो बचत रकम फिर्ता नपाउँदा पीडितहरूले लामो समयदेखि न्याय र रकम फिर्ताको माग गर्दै आएका छन्।
विश्वकर्माको पक्राउसँगै सहकारीको रकम कसरी अपचलन भयो, त्यसमा अन्य को–को संलग्न थिए र हिनामिना भएको रकम कहाँ प्रयोग गरियो भन्ने विषय अनुसन्धानको दायरामा आउने अपेक्षा गरिएको छ।
सरकारले सहकारी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरूलाई समेत खोजी गरी कानुनी कारबाही गर्ने जनाएको छ।









Facebook Comments