मकवानपुर । छठ पर्व मनाउन काठमाडौं उपत्यकाबाट सर्लाही घर फर्किंदै गरेका यात्रुका लागि भीमफेदीको चिसापानीगढी यात्रा अन्तिम बन्यो। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान सडकबाट करिब ५०० मिटर तल खसेको थियो। काठमाडौंमा रहेका आफन्त तथा परिवारका सदस्य छठ पर्व मनाउन सर्लाही जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

ad

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका एकै परिवारका छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अवधेश यादवकी ३५ वर्षीया श्रीमती पुनम देवी यादव र छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव तथा पाँच वर्षीया दीपिका यादव रहेका छन्। उनीसँगै उनका दुई भाइको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा माइक्रोबस चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डलको पनि ज्यान गएको छ। त्यसैगरी चक्रघट्टा–४ का २६ वर्षीय विकेश यादव, ३५ वर्षीय गुड्डु यादव, उनकी श्रीमती गायत्रीदेवी यादव, रामदुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रहरीका अनुसार घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव छन्।

घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका हुन्। थप उपचार आवश्यक परेका तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ। त्यस्तै ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति
भीमफेदीको चिसापानीगढीमा भएको दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिलाई दुर्घटनाको अवस्था, कारण र घटनासँग सम्बन्धित तथ्यहरूको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्ट, बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर निरज महत र आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी कानुन अधिकृत अनुशिया भट्टराई सदस्य रहेका छन्।

समितिले दुर्घटनास्थलको अवस्था, सडकको भौगोलिक बनावट, सवारीसाधनको प्राविधिक अवस्था तथा अन्य सम्भावित पक्षको अध्ययन गरी घटनाको निष्कर्षसहित प्रतिवेदन पेस गर्नेछ। यसैबीच प्रहरीले पनि दुर्घटनाको कारणबारे छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।