
काठमाडौं। छठ पर्वलाई लक्षित गर्दै काठमाडौंको गौरीघाटमा करिब ६०० पूजास्थल तयार पार्ने काम भइरहेको छ। पर्व नजिकिएसँगै गौरीघाटदेखि गुह्येश्वरी घाटसम्म सरसफाइ, सजावट, टेन्ट निर्माण र बत्ती जडानको कामलाई तीव्रता दिइएको छ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव तथा सल्लाहकार नवलकिशोर यादवका अनुसार यस वर्ष भक्तजनको सुविधालाई ध्यानमा राखेर करिब ६०० पूजास्थल व्यवस्थापन गर्न लागिएको हो। त्यसका लागि पशुपति क्षेत्र विकास कोष, बागमती सभ्यता एकीकृत विकास समिति र विभिन्न संघसंस्थासँग सहकार्य भइरहेको छ।
समितिले एउटा पूजास्थलका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरेको छ। तर आर्थिक अवस्था कमजोर भएका तथा शुल्क तिर्न नसक्ने व्रतालुका लागि निःशुल्क पूजास्थलको समेत व्यवस्था गरिएको यादवले बताए। आर्थिक अभावकै कारण कसैले पनि पूजाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
घाटमा पूजास्थल निर्माणसँगै टेन्ट, बत्ती र पुल व्यवस्थापनको काम पनि भइरहेको छ। छठका क्रममा नदी तथा जलाशयमा हुने सम्भावित दुर्घटना रोक्न भक्तजनको सुरक्षाका विषयमा सम्बन्धित निकाय र संघसंस्थासँग समन्वय भइरहेको छ। कात्तिक २८ गते साँझसम्म सबै तयारी पूरा गर्ने लक्ष्य राखिएको यादवले जानकारी दिए।
उनका अनुसार छठ पर्व धार्मिक आस्थासँगै सामाजिक एकता र सद्भावको प्रतीकका रूपमा विकसित हुँदै गएको छ। विगतमा मिथिला र मधेस समुदायमा बढी प्रचलित रहेको यो पर्व अहिले विभिन्न जातजाति तथा धर्मावलम्बीले सामूहिक रूपमा मनाउने साझा उत्सव बनेको उनले बताए।
एउटै जलाशयको किनारमा धनी–गरिब तथा विभिन्न समुदायका मानिस एकैसाथ बसेर सूर्यको आराधना गर्नु छठको विशेषता रहेको यादवको भनाइ छ। सूर्य, जल, माटो, हावा र प्रकृतिलाई सम्मान गर्ने परम्पराले पनि यस पर्वको सांस्कृतिक तथा वातावरणीय महत्त्व बढाएको उनले उल्लेख गरे।
काठमाडौंमा गौरीघाटबाहेक गुह्येश्वरी, कमलपोखरी, टेकु, वंशीघाट तथा बागमती नदीका विभिन्न किनारमा पनि छठ पूजाको तयारी भइरहेको छ। छठका अवसरमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्।
यद्यपि छठ पर्वका बेला मात्रै बागमती नदी किनारको सरसफाइ र सजावट गर्ने प्रवृत्तिले दीर्घकालीन सुधार सम्भव नहुने यादवको भनाइ छ। नदी किनारलाई वर्षभरि सफा र व्यवस्थित राख्न नियमित सरसफाइ तथा सौन्दर्यकरणको स्थायी व्यवस्था आवश्यक रहेको उनले औँल्याए।
पूजा सम्पन्न भएपछि फूल, फलफूल र प्लास्टिकजन्य सामग्री नदी किनारमा फालिने समस्या अझै समाधान हुन नसकेको उनले बताए। पर्वपछि उत्पन्न हुने फोहोरको उचित व्यवस्थापनमा भक्तजन र सरोकारवाला निकाय सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
चार दिनसम्म मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीबाट सुरु हुन्छ। षष्ठीका दिन साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् भने सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुन्छ।









Facebook Comments