
गुल्मी। पहिरो खसेर अवरुद्ध बनेको गुल्मीस्थित कालीगण्डकी करिडोर सडकखण्ड पुनः सञ्चालनमा आएको छ। कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट खसेको सुक्खा पहिरो हटाइएपछि यातायात सेवा नियमित भएको हो।
बुधबार साँझ सडकमा चट्टानसहितको पहिरो खसेपछि करिडोरमा सवारी आवागमन ठप्प भएको थियो। सडक डिभिजन कार्यालय, कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको संयुक्त पहलमा डोजर परिचालन गरी पहिरो हटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार सडक अवरुद्ध भएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
सडक खुलेसँगै तिहार मनाउन गाउँ आएका तथा रुद्रवेणी–पूर्तिघाट सडकखण्डमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
करिडोर अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने यात्रु तथा सवारी चालक प्रभावित भएका थिए।
मुस्ताङसम्म पुग्ने छोटो वैकल्पिक मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरमा पछिल्लो समय सवारी चाप बढ्दै गएको छ। सडक अवरुद्ध हुँदा यस मार्ग भएर यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नुपरेको थियो।









Facebook Comments