
काठमाडौं । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँदैछन्।
म्हः पूजाका अवसरमा नेवार समुदायले आफ्नो शरीरको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ। यस दिन परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मण्डप बनाई आफ्नो पूजा गर्ने चलन छ।
म्हः पूजाका क्रममा चामल, फूल, फलफूल, बत्ती तथा विभिन्न पूजा सामग्री प्रयोग गरी मण्डप सजाइन्छ। त्यसपछि परिवारका सदस्यले विधिपूर्वक पूजा गरी सगुन ग्रहण गर्ने परम्परा छ।
नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो। राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यता रहेको छ।
नेपाल संवत्को नयाँ वर्षका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी, र्याली तथा शुभकामना आदानप्रदानका कार्यक्रम आयोजना गर्ने गरिन्छ। यस पर्वले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।









Facebook Comments