काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन गरिरहेको उपसमितिले मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्ष तथा क्षेत्रगत विज्ञहरूसँग बयान र छलफल गर्ने कार्यतालिका तय गरेको छ।

सिंहदरबारमा आज बसेको उपसमितिको दोस्रो बैठकपछि संयोजक मनिष झाले अध्ययनका लागि आवश्यक तयारी गर्न कात्तिक ३० गतेसम्मको समय छुट्याइएको जानकारी दिए।

ad

उनका अनुसार उक्त अवधिमा पोशाक खरिदसम्बन्धी विषयको अध्ययन, आवश्यक प्रमाण सङ्कलन तथा सम्बन्धित पक्षलाई सोध्नुपर्ने प्रश्न तयार गरिनेछ। त्यसपछि मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्ष र विज्ञहरूसँग छलफल गरिनेछ।

उपसमितिको कार्यावधि मंसिर २० गतेसम्म तोकिएको छ। संयोजक झाले उपसमिति गठन भएको २० दिन बितिसकेको र बाँकी समयमध्ये सार्वजनिक बिदाका कारण करिब ३० दिन मात्रै काम गर्न सकिने अवस्था रहेको बताए।

उनले अन्तिम पाँच दिन अर्थात् मंसिर १६ देखि २० गतेसम्म प्रतिवेदन लेखनका लागि छुट्याउने सहमति भएको जानकारी दिए।

अध्ययन उपसमितिको उद्देश्य कसैलाई दोषी वा निर्दोष घोषणा गर्नु नभई तथ्य र प्रमाणका आधारमा निष्कर्ष निकाल्दै सिफारिससहितको प्रतिवेदन तयार गर्नु रहेको झाले स्पष्ट पारे। उनका अनुसार निर्णय गर्ने अधिकार पूर्ण समितिमा रहनेछ।

“यो उपसमितिले अध्ययन गर्ने हो। अध्ययनले कहिल्यै निर्णय सुनाउँदैन। प्रतिवेदन लेख्ने, सिफारिस गर्ने र निष्कर्ष सुनाउने हो। निर्णय गर्ने अख्तियारी पूर्ण समितिलाई हुन्छ,” उनले भने।

अध्ययन पूरा नहुँदै कसैलाई दोषी ठहर गर्नु उचित नहुनेमा जोड दिँदै झाले उपसमिति अहिले नै कुनै निष्कर्षमा नपुगेको बताए।