काठमाडौं । आज बिहान तट पार गरेको अर्नब चक्रवातले तीव्र हावा र भारी वर्षा ल्याएपछि भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा जनजीवन प्रभावित बन्न पुगेको छ ।

भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातले आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीच, पुदुचेरीको यानमको दक्षिणतर्फको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको हो।

ad

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । यसले आन्ध्र प्रदेशका विभिन्न तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा गराएको छ । चक्रवात भित्री भागतर्फ अघि बढ्दै जाँदा थप कमजोर हुने र हावाको गति भोलिपल्ट प्रतिघण्टा ११० किलोमिटरसम्म झर्ने अनुमान गरिएको छ । 

भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेशको तटीय क्षेत्र र छिमेकी ओडिसाका केही भागमा आगामी चार घण्टासम्म भारी वर्षा र तीव्र हावा चल्ने सम्भावना छ ।  त्यहाँ ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण काकिनाडा र विशाखापट्टनममा रूख ढलेका छन्, विद्युत्‌का पोल ढलेका छन् र सडक अवरुद्ध भएका छन्।
चक्रवातका कारण यातायात र शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन्। झारखण्डका राँची, पश्चिमी सिंहभूम, पूर्वी सिंहभूम र सिमडेगा जिल्लामा बुधबार र बिहीबार विद्यालय बन्द गरिएका छन्। तमिलनाडुमा चेन्नईबाट विशाखापट्टनम, विजयवाडा र राजमुन्द्री जाने तथा ती सहरबाट चेन्नई आउने १२ उडान रद्द गरिएका छन्। दक्षिण रेलवेले पनि केही रेल सेवा रद्द गरेको छ